सुनकोसी नदीको खैरेनीघाटमा पुनः बन्ने भो अस्थायी पुल



७ पुस, रामेछाप ।
रामेछाप क्षेत्र नम्बर २ जोडने सुनकोसीस्थिति खैरेनीघाटमा अस्थायी पुल पुनः सञ्चालनमा आउने भएको छ । स्थानीयको सक्रियतामा अस्थायी पुल सञ्चालनमा आउने भएको हो । गत बर्ष पनि ३० लाख रुपैयाँको लगानीमा निर्माण भएको पुल दुई महिना सञ्चालनमा आएको थियो ।

बर्षाको कारण राजधानीसँग सिधा आवतजावत गर्न बञ्चित रामेछाप जिल्लाका पश्चिमी गाविसका बासिन्दा प्रत्यक्ष प्रभावित हुने भएका छन् । सुनकोसी नदीमा पक्की पुल निर्माणमा ढिलाई भएको कारण रामेछाप र राजधानी काठमाडौं जोडनको लागि गत बर्षदेखि अस्थायी पुल निर्माण गरिएको थियो ।

पुल सञ्चालनमा आएपछि रामेछापका खनियापानी, बेथान हिलेदेवी, राकाथुम, हिलेदेवी दिपीपोखरी, टोकरपुर लगायतका दर्जन भन्दा बढी गाविसका बासिन्दालाई राजधानी आवतजावत गर्न सहज हुने भएको छ । अस्थायी पुल सञ्चालनमा आएपछि अबको झण्डै पाँच महिना सञ्चालन गर्न सकिनेछ ।

स्थानीयवासी र पक्की पुल निर्माणको ठेक्का पाएको लामा खम्पाचे जेभीको सक्रियतामा अस्थायी पुल निर्माण कार्य भइरहेको छ । पुल निर्माणको ठेक्का पाएको कम्पनीले रामेछाप पट्टीको पुलको पिल्लर ल्याउनको लागि सहज हुने भएकाले पनि अस्थायी पुल निर्माणमा चासो देखाएको छ । पुल सञ्चालनमा आएपछि पक्की पुल निर्माणको लागि आवश्यक पर्ने सामाग्री ल्याउन सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्