रामेछाप खुल्ला दिशामुक्त जिल्ला घोषणा हुने



८ पुष, रामेछाप ।
रामेछाप जिल्ला २०७३ सालभित्र नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने भएको छ । खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नको लागि २ नगरपालिका र जिल्लाका सबै गाविसहरुमा अभियान सञ्चालन गरिएको छ । जिल्ला विकास समिति, गाविस, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नगरपालिका गाविस र खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्ने सात वटा गैरसरकारी संस्थाको सहकार्यमा रामेछापलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न लागिएको हो ।

रामेछापका नामाडी खिम्ती र माकादुम गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा भइसकेको छ । यही पुष महिनाभित्र साँघुटार, गोठगाउँ, दोरम्बा, ठोसे, रस्नालु, गौश्वारा, बेथान र भुजी लगायतका गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्न लागिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोकबहादुर चौलागाईले बताए ।

अन्य जिल्लामा खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नको लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले लगानी गरेपनि रामेछापमा कुनै भने खुल्ला दिशामुक्त क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था नभएको उनले बताए । डिभिजन प्रमुख चौलागाईले रामेछाप न्युजसँग भने,‘यही बर्षभित्र रामेछापलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियानमा छौ, अहिले गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने काम भइरहेको छ ।’

गाविसस्तरमा शौचालयको महत्व बुझाउने जनचेतना जगाउने र विपन्न घरपरिवालाई शौचालय निर्माणमा आवश्यक पर्ने सामग्री वितरण गर्ने काम भइरहेको उनले बताए । जिल्लामा दुई नगरपालिका सहित ४५ गाविस छन् । तथ्याङ अनुसार रामेछापको कुल जनसंख्या २ लाख ५३ हजार रहेको छ ।

२०७३ पुष ८ गते ९ः५मा प्रकाशित  

प्रतिक्रिया दिनुहोस्