५० हजार राशीको जगदीश घिमिरे राष्ट्रिय पुरस्कारको घोषणा



९ पुस, रामेछाप ।
साहित्यकार एवं समाजसेवी जगदिश घिमिरेको तेस्रो स्मृति दिवस सम्पन्न भएको छ । सदरमुकाम मन्थलीमा शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान र जगदिश घिमिरे प्रतिष्ठानको संयुक्त आयोजनामा स्मृति दिवस सम्पन्न भएको हो । कार्यक्रममा देशका वरिष्ठ साहित्यकारहरुका साथै जिल्लाका श्रष्टाहरु समेत सहभागी थिए ।

उक्त कार्यक्रममा कविता, गीत, गजल, मुक्तक, हास्यरसका रचनाहरु वाचन गरिएको थियो । बाबुराम श्रेष्ठ, उद्धव अविरल, झँकारराज शर्मा, उद्धवप्रसाद घिमिरे, रामचन्द्र वियोगी, शान्ता पौडेल, सुनिता श्रेष्ठ, प्रकाश परिस्कार लगायत स्थानीय कविले रचना वाचन गरेका थिए । स्मृति दिवस मनाउन राजधानीबाट आएका श्रष्टा अशेष मल्ल, डम्बर गिरी, महेश प्रसाई, लक्ष्मण गाम्नागे, रमेश पौडेल, रुपक बनवासी, शितल कादम्बिनी, गणेश राई, सन्ध्या पहाडी, ज्ञानुवाकर पौडेल, त्रिपुरा पौडेल, मातृका पोखरेललगायतले रचना बाचन गरेका थिए ।
समारोहमा उपकुलपति डा. विष्णुविभू घिमिरे जगदिश घिमिरे राष्ट्रका गहना भएकाले प्रतिष्ठानले उनको योगदानलाइ विर्सनु नहुने बताए । उनले जगदीशजस्तो व्यक्ति कतै नजन्मेको दावी गरे । कार्यक्रममा चिकित्सक तथा कवि सुमन कर्माचार्यको दोस्रो कवितासंग्रह ‘देश दुखेको बेला’ को विमोचन विष्णुविभु घिमिरे र अशेष मल्लले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेले स्व. जगदीश घिमिरेको नामबाट हरेक बर्ष ५० हजार राशीको जगदीश घिमिरे राष्ट्रिय साहित्य पुरस्कार प्रदान गर्ने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्