रामेछापको विकास निर्माणमा दृढतापूर्वक लाग्छुःसांसद श्रेष्ठ



२१ पुस, रामेछाप ।
रामेछाप क्षेत्र नम्बर २ का सांसद एवं नेकपा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले ‘कुशल’ले जिल्लाको विकास निर्माणको लागि दृढतापूर्वक लाग्ने बताएका छन् । उनले राजधानी नजिक भएर पनि रामेछाप जिल्ला विकास निर्माणको दृष्टिकोणले पछाडि परेको बताउदै केही बर्षभित्र नै जिल्लाले विकास निर्माणमा फड्को मार्ने बताएका हुन् । शिक्षा नै समाज विकासको पहिलो आधार भएको बताउदै सांसद श्रेष्ठले शिक्षा क्षेत्रको विकासको लागि प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

फरक प्रसंगमा उनले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित गरेर विवादित मुद्दाहरु संसदबाटै छिनोफानो गर्नुपर्नेमा जोड दिदै तीन तहको निर्वाचन गर्नको लागि दलहरुको बीचमा संकल्पगत एकताको खाँचो रहेकोमा जोड दिए ।
विहिवार रामेछापको गुन्सीस्थिति शतलिङ्गेश्वर मावि गुन्सीको ६० औ बार्षिक उत्सव (हिरक जयन्त) एवं अभिभावक मिलन समारोहलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले जिल्लाको विकास निर्माणको कामको लागि पहल गरिरहेको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज धावा लामा, नेकपा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल, नेपाली कांग्रेसका नेता रामचन्द्र खड्का लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा रामेछाप जिल्लाका जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले जिल्लाको शैक्षिकस्तर उकास्नका लागि आफूले भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्