बेथानमा १ हजार ३ सय ७५ घरमा शौचालय



२१ पुस, रामेछाप ।
यही बर्षभित्र रामेछाप जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियान अुनसार रामेछाप जिल्लाका बेथान गाविसमा सबै घरधुरीमा शौचालय निर्माण भएको छ । गाविसमा १ हजार ३ सय २४ घरमा शौचालय निर्माण भएको गाविसस्तरीय खानेपानी स्वच्छता तथा सरसफाई समितिले बताएको छ । बेथान गाविसका सचिव कौशलजंग थापाले गाविसमा सबै धरमा शौचालय निर्माण भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियान अनुसार गाविसमा सबैले शौचालय निर्माण गरेका हुन् ।

पहाडी समाज कल्याण केन्द्र दोरम्बाको सवल परियोजनाको सहजिकरण तथा जिल्ला विकास समिति रामेछापको सहयोगमा ४ सय १३ वटा शौचालय निर्माण भएपछि सो गाविसका सबै घरमा शौचालय निर्माण भएको पहाडी समाजका अध्यक्ष रत्नप्रसाद कडेलले बताए । जिल्लास्तरीय अनुगमन समितिले शौचालय निर्माणको स्थलगत अनुगमन समेत गरेको छ ।

अनुगमनमा खानेपानी तथा सरसफाई उपभोक्ता जिल्ला महासंघका अध्यक्ष लेखबहादुर कार्की, गाविस सचिव कौशलजंग थापा, पहाडी समाजका अध्यक्ष रत्न प्रसाद कडेल, जिल्ला विकास समिति, खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख लोकबहादुर चौलागाई, सवल परियोजनाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । रामेछापमा आधा दर्जन गाविस खुल्ला दिशामुक्त गाविस घोषित भइसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्