रामेछापमा खानेपानी हाहाकारःयोजना छ बजेट छैनःचौलागाई



डेढ बर्ष अघि गएको भुकम्पको कारण भएका पानीको मुहान सुक्दा रामेछापवासी झन मर्कामा परेका छन् । रामेछापका केही गाविसलाई सरकारले सुख्खाग्रस्त गाविस घोषणा गरेको छ । खानेपानीको स्रोत नहुँदा रामेछापका बासिन्दा तामाकोसी सुनकोसी नदीको साथै विभिन्न खोलाबाट लिफ्ट सिस्टम मार्फत खानेपानी पुर्याउने काम भइरहेको छ । जिल्लाको एक नम्बर निर्वाचन क्षेत्रका उत्तरी गाविसका बासिन्दालाई खानेपानी पुर्याउने योजना सहित अगाडि सारिएको वृहत्त रामेछाप खानेपानी आयोजना कागजमै सीमित भएको छ । रामेछापमा खानेपानीको समस्या र समाधान, जिल्लामा सञ्चालित खानेपानी आयोजनाको अवस्था अबको एक बर्षभित्र सबै गाविसका बासिन्दाले खानेपानी पाउन सक्छन कि सक्दैनन ? भन्ने विषयमा केन्द्रीत रहेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोकबहादुर चौलागाईसँग रामेछाप न्युजले गरेको कुराकानीः–

लोकबहादुर चौलागाई प्रमुख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रामेछाप

पकरवास र भिरपानीमा यसै बर्ष खानेपानी

खानेपानीको अभाव जिल्लाका अधिकाशं गाविसमा छ । यस बर्ष भिरपानी र पकरवासका बासिन्दालाई खानेपानी पुर्याउने गरी काम अगाडि बढेको छ । क्षेत्र नम्बर २ को पकरवासको लागि तामाकोशी नदीबाट लिफ्ट सिस्टम मार्फत पानी पुर्याउने काम भइरहेको छ । नदीबाट गाविसमा पानी पुर्याउन चार वटा लिफ्ट निर्माणको काम भइरहेको छ । भीरपानी गाविसमा सुनकोसी नदीबाट पाँच वटा लिफ्ट मार्फत गाविसमा पानी तान्ने काम भइरहेको छ । दुई वटा आयोजनाबाट दुई हजार घरपरिवारलाई पानी उपलब्ध गराउने योजनामा छौं । एक बर्षभित्र सम्पन्न हुन्छ । घरघरमा पानी पर्याउने काममा लागेका छौ । ४० करोड रुपैयाँमा निर्माण भइरहेको आयोजना सम्पन्न भएपछि पानी किनेर खानु पर्ने बाँध्यता हट्छ । यस क्षेत्रमा अहिले खानेपानी किनेर खान उपभोक्ता बाँध्य छन् ।

रामेछाप बजारवासीलाई यसै बर्ष खानेपानी
रामेछाप बजार आसपासका बस्तीहरुलाई खानेपानी पुर्याउन छतीवने खानेपानी आयोजना अगाडि बढाइएको छ । यो बर्ष पूरा गर्ने लक्ष्य छ । तीन वटा लिफ्ट मार्फत पानी लैजान लागिएको हो । यसबाट १५ सय घर धुरीलाई पानी पुर्याउछौं । १७ करोड रुपैयाँमा यो आयोजना निर्माण भइरहेको छ । रामेछाप जिल्लाको पुरानो सदरमुकाम पनि हो । यस क्षेत्रमा पनि खानेपानीको अत्याधिक समस्या थियो । अब समाधान हुन्छ ।

वृहत्त खानेपानी आयोजना अगाडि बढन सकेन
जिल्लाको उत्तरी क्षेत्रका गाविसलाई खानेपानी पुर्याउने उदेश्यले रामेछाप वृहत्त खानेपानी आयोजनाको सर्भे भएपनि काम अगाडि बढन सकेको छैन् । रिपोर्ट शहरी विकास मन्त्रालयमा बुझाए पनि काम अगाडि बढ्न सकेन । जिविस रामेछाप मार्फत स्वीस सरकारले सर्भे गरेको ८ बर्ष भएपनि अगाडि बढ्न सकेन । कारण स्वीस सरकारले लगानी गर्न चासो देखाएन । आयोजनाको लागि ३ अर्ब लाग्ने अनुमान गरिएको थियो । तर अहिले तर लागत झण्डै ६ अर्ब लाग्ने देखिएको छ । जिल्लाको ठोसबाट ९० किलोमिटर ढाढाबाट पानी ल्याउन सहज छैन् । यो योजना सरकारले रातो किताबमा समावेश गरेको पनि छ । अहिले पनि बार्षिक बजेट विनियोजन त भएको तर कसरी पूरा गर्नेमा अन्यौलता छ । यस बर्ष यो आयोजनाको लागि ७० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

जिल्लामा ८३ वटा खानेपानी आयोजना
जिल्लाभर गत बर्ष ४५ वटा खानेपानीको आयोजना सञ्चालनमा थिए । यस बर्ष ३८ वटा नयाँ योजना थपिएर ८३ वटा खानेपानीका आयोजना छन् । खानेपानीका मुहान नहुँदा खोला र नदीबाट पम्पिङ सिस्टमबाट काम अगाडि बढाउने गृहकार्य गरेका छौं ।

योजना छ, बजेट छैन
जिल्लामा खानेपानीको माग अत्याधिक माग छ । जताततैको माग सम्बोधन गर्न खानेपानी डिभिजन कार्यालय विभिन्न आयोजना अगाडि बढाए पनि पर्याप्त बजेट नहँुदा आयोजना निर्माण सम्पन्न हुन बर्षौ लाग्ने देखिएको छ । एउटा योजना सम्पन्न गर्नको लागि ७ करोड रुयैयाँ लाग्ने लागत छ । तर ७ करोडको आयोजनको लागि दस लाख रुपैयाँ मात्र छ । २३ करोडको योजनाको लागि जम्मा १५ लाख रुपैयाँ मात्र विनियोजन भएको छ । पानीको हाहाकार छ । योजना पनि छ । केही काम पनि सुरु भएको छ । तर पर्याप्त बजेट छैन् ।

मन्थलीको लागि १० करोडको योजना
सदरमुकाम मन्थलीमा खानेपानीको सहज व्यवस्थापनको लागि दस करोड रुपैयाँमा लगानीमा लिफ्ट सिस्टमको खानेपानी आयोजना अगाडि बढेको छ । तामाकोसीबाट पानी तानेर मन्थली बजारको माथिल्लो स्थानमा तीन हजार लिटरको टंयाकी मार्फत मन्थलीमा वितरण गर्ने लक्ष्य छ । मन्थलीमा १५ हजार जनसंख्या छ । दैनिक ६ लाख लिटर खानेपानीको माग भएपनि हाल दुई लाख लिटर मात्र खानेपानी उपलब्ध गराउन सकेका छौं । मन्थलीमा खानेपानीको अभाव छ । भुकम्पको समयमा डिभिजन कार्यालयले टंयाकर मार्फत खानेपानी उपलब्ध गराएसको थियो । लामो समय बिजुली नहुँदा समस्या भएपछि मन्थलीमा हाल जेनेरेटर खरिद गरेर सहज रुपमा पानी उपलब्ध गराउने व्यवस्था मिलाएका छौं ।

खानेपानी पुर्याउने सपना अधुरै
सन् २०१७ सम्म सरकारले प्रत्येक नागरिकलाई खानेपानी सेवा उपलब्ध गराउने घोषणा सरकारले गरेपनि रामेछावासीको लागि भने अधुरै रहने देखिन्छ । ४५ वटा आयोजना सम्पन्न गर्न एक अर्ब २० करोड लाग्छ । अहिले बार्षिक ८ करोड रुपैयाँ मात्र बजेट छ । सरकारको नारा अनुसार बजेट नहुँदा समस्या छ ।

जताततै खानेपानीको मुहान सुक्यो
डेढ बर्ष अघि गएको विनाशकारी भुकम्पको कारण रामेछापका अधिकांश स्थानमा खानेपानीको मुहान सुकेको छ । खानेपानीको मुहान सुकेपछि नदीबाट पम्पिङ गर्नुको अर्को विकल्प छैन् । पुरानो आयोजना सम्पन्न गर्नको लागि पम्प सिस्टम अन्तर्गत काम गर्नुपर्ने अवस्था छ । जिल्लामा १ सय ३१ खानेपानी आयोजनको लागि पुननिर्माण प्राधिकरणले तीन करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ ।

रामेछापमा २० प्रतिशतलाई मात्र खानेपानी
जिल्लाको तथ्याङक हेर्ने हो भने २० प्रतिशत उपभोक्ताले मात्र पूर्ण रुपमा खानेपानीको उपभोग गरका छन् । असी प्रतिशतले सहज रुपमा खानेपानी प्राप्त गर्न सकेका छैनन् । रामेछापमा २ लाख ७ जनसंख्या छ ।

प्रतिक्रिया दिनुहोस्