रामेछापमा दुई हजार घर पुननिर्माण हुँदै



३ माघ, रामेछाप ।
भुकम्प गएको डेढ बर्षपछि रामेछापमा पुननिर्माणको कामले गति लिएको छ । भुकम्प पीडितले पहिलो किस्ता अनुदान सम्झौता गरेर घर निर्माणको काम सुरु गरेका छन् । झण्डै चालिस हजार भुकम्प पीडितले पहिलो किस्ता अनुदान सम्झौता गरेपनि जिल्लामा दुई हजार घरपरिवारले मात्र घर निर्माणको काम थालेका छन् । रामेछापको ४५ गाविस र २ नगरपालिमामा पुननिर्माणको सुरु भएपनि प्रभाविकारी रुपमा अगाडि बढ्न सकेको छैन् । पुनिर्माणमा खटिएको इन्जिनियरहरुको आन्दोलन र समयमा नै पहिलो किस्ता अनुदान सम्झौता नहुँदा घर निर्माणको काम प्रभावित भएको थियो । तर आन्दोलित प्राविधिक पुनः जिल्ला फर्किएका छन् भने भुकम्प पीडितले लिएको पहिलो किस्ताले धमाधम घर निर्माणमा जुटेका छन् ।

यसरी बन्दैछ भुकम्पपछिको नयाँ घर
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रामेछापका प्रमुख अमरबहादुर थापाले पहिलो किस्ता सम्झौता भएसँगै घर निर्माणको कामले गति लिएको बताउछन् । उनले रामेछाप न्युजसँग भने,‘जिल्लामा अहिले दुई हजार घर निर्माण भइरहेका छन, बाँकी ३८ हजार निर्माणको चरणमा छन् ।’ पुननिर्माणमा खटिएको इन्जिीनियरको आन्दोलनको कारण घर निर्माणमा केही प्रभाव परेको बताउदै उनले पहिलो किस्ता लिएसँगै घर निर्माणमा भुकम्प पीडितहरु जुटेको बताए । सरकारले उपलब्ध गराउने तीन लाख रुपैयाँमा नै घर निर्माण गर्न भुकम्प पीडितहरु जुटेका छन् । प्रमुख थापाले गाउँमा निर्माण हुने अधिकाशं घर ढुङगा र मोटोको जोडाइमा निर्माण हुन भएकाले एक तला भन्दा माथि निर्माण गर्न नसकिने बताए । गाउँमा काठ र ढुङगा सहज रुपमा पाइने भएकाले एक तलाको घर निर्माण हुन सक्ने निष्कर्ष डिभिजन कार्यालयले लिएको छ ।

एघार सय जनाले लिए घर बनाउने तालिम
भुकम्प गएको ढेड बर्षको अवधिमा रामेछापका एघार सय जनाले भुकम्प प्रतिरोधी घर निर्माणको लागि तालिम लिएका छन् । विभिन्न गैरसरकार संस्थाको सहयोगमा सदरमुकाम आसपास क्षेत्रका बासिन्दाले मात्र तालिम लिएका छन् । जिल्लाका दुगर्म क्षेत्रमा अझैसम्म भुकम्प प्रतिरोधी घर निर्माणको लागि आवश्यक पर्ने जनशक्ति नहुँदा परम्परागत रुपमा नै भुकम्प पीडितहरु घर निर्माणमा हुने देखिएको छ । चालिस हजार घर निर्माणको लागि हजारौ दक्ष जनशक्ति आवश्यक पर्ने भएपनि सरकारले स्थानीयस्तरमा तालिम प्रदान गर्ने कामलाई प्राथमिकतामा राख्न सकेको छैन् ।

घर निर्माणमा पानीको समस्या
भुकम्प पीडितहरुले ढेड बर्षपछि पहिलो किस्ता पचास हजार रुपैयाँ प्राप्त गरेपनि जिल्लाका आधा भन्दा बढी गाविसमा पानीको अभावको कारण पनि घर निर्माणको काम प्रभावित भएको डिभिजन कार्यालय रामेछापले बतएको छ । रामेछापका ४५ गाविस मध्ये आधा गाविस सुख्खाग्रस्त गाविसभित्र पर्छन । पिउने पानी समेत किनेर खानुपर्ने बाँध्यताको कारण घर निर्माणको काम समेत प्रभावित भएको छ । भुकम्प गएको डेढ बर्षपछि पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका रामेछापका भुकम्प पीडितहरु पानीको अभाव हुँदा चिन्तित बनेका छन् । पहिले किस्ता पचास हजार रुपैयाँ लिएर घर निर्माणको तत्र्खरमा रहेका भुकम्प पीडितहरु थप अन्यौलमा परेका हुन् ।

४० हजार घरपरिपारिवारसँग पहिलो किस्ता सम्झौता
संघीय मामिला स्थानीय विकास मन्त्रालय अन्तर्गत केन्द्रीय कार्यान्वय इकाई मार्फत रामेछाप जिल्लामा ९२ जना प्राविधिकलाई खटाइएको छ । तर हाल जिल्लामा असी जना मात्र प्राविधिक रहेका छन् । बाँकी प्राविधिकहरु आउने क्रममा रहकेो डिभिजन कार्यालय रामेछापले बताएको छ । डेढ बर्ष अघि गएको भुकम्पको कारण रामेछाप जिल्लामा ४९ हजार ६ सय ९ घर भत्किएको थियो । डिभिजन कार्यालयका अनुसार हाल पहिलो किस्ता चालिस हजार घरपरिवारले पाएका छन् । जिल्लामा एघार हजार भुकम्प पीडितले भने प्राविधिक कारणले पहिलो किस्ता प्राप्न गर्न सकेका छैनन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले रामेछापका भुकम्प पीडितको घर पुननिर्माणको लागि २ अर्ब ७ करोड रुपैयाँ निकासा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्