अमर बमलाई आममाफी दिन युएइका उपराष्ट्रपतिसँग प्रचण्डको आग्रह



४ माघ,काठमाडौं ।
नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति मोहमद बिन रसिद अल मक्तोमबीच भेटबार्ता भएको छ । मंगलबार दिउँसो दुवईमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति मक्तोमबीच दुइपक्षीय हित र आपसी सम्बन्धबारे कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले साउदीको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफी सहित नेपाल पठाउने व्यवस्था गर्न उपराष्ट्रपति समक्ष विशेष आग्रह गरेका छन् । प्रचण्डको आग्रहपछि उपराष्ट्रपति मक्तोमले आफूले तत्कालै राजदूतलाई बोलाएर यसबारे प्रक्रिया अगाडि बढाउने विश्वास दिलाएका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक दृष्टिले उच्च चुचुरो (सगरमाथा) को देश भएको र युएई मानव निर्मित ठूला टावरहरुको देश भएकोले नेपाल दुई उच्च टावरलाई जोडेर आपसी हित र मित्रतालाई थप बलियो बनाउन चाहेको बताएका थिए ।

भेटका क्रममा युएईका उपराष्ट्रपति मक्तोमले नेपालीहरु विश्वमै सबैभन्दा सोझा र इमान्दार भएको भन्दै नेपालको विकासमा लगानी गर्न र नेपाली कामदारहरुका समस्या समाधान गर्न युएई सरकारले थप पहल र सुधार गर्ने बताएका थिए । दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन माघ १ गते युएई गएका प्रधानमन्त्री प्रचण्ड मंगलवार नै स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्