५५ देशका प्रहरी प्रमुख नेपालमा



माघ ५,काठमाडौं ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विज्ञान प्रविधिले अपराधको शैली फेरिएको बताएका छन् । बुधबार काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को २३ औं एसियन सम्मेलनमा सहभागी राष्ट्रका प्रहरी प्रमुख तथा अधिकारीहरूलाई स्वागत गर्दै अर्यालले प्रविधिको विकाससँगै सुरक्षा व्यवस्थामा पनि चुनौती खडा भएको बताए ।
इन्टरपोलका महासचिव जुरगेन स्टकले आतंकवाद दक्षिण एसियाको साझा समस्या भएको भन्दै यसविरुद्ध लड्न संगठित सहकार्य चाहिने बताए । तीन दिन चल्ने सम्मेलनमा मानव तस्करी, बलात्कार, संगठित अपराध, अवैध सुन तस्करी, साइबर क्राइम, म्याच फिक्सिङलगायत विषयमा छलफल हुनेछ ।
सम्मेलनमा भारत, अफगानिस्तान, चीन, मकाउ, थाइल्यान्ड, श्रीलंका, बंगलादेशलगायत ५५ देशका २ सय ५० प्रतिनिधि सहभागी छन् । नेपाल प्रहरीले यसअघि ०४५ सालमा १० औं सम्मेलनको आयोजना गरेको थियो । इन्टरपोलका १ सय ९० राष्ट्र सदस्य छन् । नेपाल प्रहरी इन्टरपोलको एक सयौं सदस्य राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्