७५० मेगावाट पश्चिम सेती जलविद्युत आयोजना बन्ने



५ माघ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले उपत्यकालाई लोडसेडिङमुक्त बनाएर देशलाई नै उज्यालो पार्ने अभियानमा लागेको छन् । दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्दै आएका उपात्यकावासीले अहिले ढुक्कसँग बिजुली प्रयोग गर्न पाइरहेका छन् । कुलमान घिसिङ आएसँगै नेपालको विद्युत क्षेत्रमा ठूलठूला परिवर्तन भएका छन् । लामो समयदेखि काम अगाडि बढन नसकेको पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले स्वीकृति दिएको छ ।

प्राधिकरणको सञ्चालक समितिको आजको बैठकले चिनियाँ प्रवद्र्धक थ्रि गर्जेजबीच आयोजनाका लागि भएको संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्तावलाई स्वीकृत गर्दै सोको जानकारी लगानी बोर्डलाई समेत गराउने निर्णय गरेको हो ।प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सो आयोजना नेपालको उच्च प्राथमिकतामा रहेको र आयोजना अघि बढाउन सरकारको निर्देशनअनुसार नै चिनियाँ लगानीकर्तालाई सञ्चालक समितिबाट आमन्त्रण गरिएको बताए ।

पाँच वर्ष अघि आयोजना विकास सम्बन्धमा सरकार र चिनियाँ पक्षबीच प्रारम्भिक सम्झौता भए पनि प्रवद्र्धकले प्रसारण लाइन पुनःस्थापना, मुअब्जा लगायत विषयमा नेपालको निर्णय पर्खेको थियो । कूल ७५० मेगावाट क्षमताको आयोजना निर्माण गर्न करिब रु एक खर्ब लागत लाग्ने सो आयोजनामा ७५ प्रतिशत लगानी थ्रि गर्जेजको र बाँकी प्राधिकरणको हुनेछ । अछाम र डोटीको सीमाना भएर बग्ने सेती नदीमा निर्माण हुने आयोजनाले बढी विद्युत् माग हुने साँझको समयमा सञ्चालनका गर्ने तयारी प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्