फागुनको पहिलो सातामै भूकम्पपीडितले ट्याक्सी नम्बर पाउने



५ माघ, काठमाडौं ।
सरकारले डेढ बर्ष अघि गएको विनाशकारी भूकम्प अति प्रभावित १४ जिल्लाका भुकम्प पीडितहरुका लागि दिने भनिएको १५ सय ट्याक्सीको नम्बर फागुनको पहिलो हप्तासम्म दिने भएको भएको छ । यातायात व्यवस्था कार्यालयले माघको तेस्रो हप्ताभित्र भूकम्प पीडितको स्विकृत नामावली प्रकाशन गरिसक्ने र फागुन पहिलो साता टयाक्सीको नम्बर दिने तयारी गरेको हो ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका ३० जना कर्मचारी एक हप्तादेखि नामावली रुजु गर्ने कामका खटिएको बताउदै कार्यालयका प्रमुख बसन्तराज अधिकारीले नामावलीका लागि प्रारम्भिक चरणमा ए थ्री साइजको पेपरमा ६४ सय पेजको तथ्याङ्क भएका कारण केही समय लाग्ने बताए ।

उनका अनुसार ट्याक्सीका नम्वर गोलाप्रथावाट वितरण गरिनेछ । ट्याक्सीको नम्बरका लागि १४ जिल्लाका कुल एकलाख ४८ हजार ६ सय १६ जनाले आवेदन दिएको अधिकारीले बताए । सबैभन्दा धेरै सिन्धुपाल्चोक जिल्लाबाट र सबैभन्दा कम रसुवा जिल्लाबाट आवेदन परेको छ । सिन्धुपाल्चोकबाट २५ हजारले ट्याक्सीको नम्बरका लागि आवेदन दिएका छन् भने रसुवाबाट जम्मा २५ सयले मात्र आवेदन दिएका छन् ।
यातायात व्यवस्था विभागले माघको तेस्रो हप्ताभित्र स्विकृत अन्तिम नामावली तयार गरेर १४ वटै जिल्लामा पठाउने तथा वेवसाइटमा राख्ने जनाएको छ । भूकम्प पीडितले सो नामावली हेर्नका लागि काठमाडौं धाउनुपर्ने बाध्यता छैन । कसैको विवरण बिग्रेमा वा सच्याउनुपर्ने भएमा वा रसिद नम्बर गलत परेमा क्रसचेक गर्न समय दिइने अधिकारीले बताए ।

सरकारले भूकम्प अति प्रभावित जिल्ला दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका पीडितहरूलाई ट्याक्सीका लागि आवेदन माग गरेको थियो । भुकम्प पीडितले पाउने टयाक्सी नम्बर भने बेच्न नपाउने गरी यातायात व्यवस्था विभागले नीति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्