अब भारत जान सरकारसँग अनुमति लिनुपर्ने



११ माघ, काठमाडौं ।
वैदेशिक रोजगारीको लागि छिमेकी देश भारत जान पनि सरकारसँग अनुमति लिनुपर्ने भएको छ । सरकारले भारतलाई पनि बैदेशिक रोजगारीमा राख्दै भारत जान पनि सरकारसँग अनुमति लिनुपर्ने नयाँ नियमको घोषणा गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको शिलशिलामा भारत जाने नेपालीहरुलाई वैदेशिक रोजगारीको मान्यता दिने बताए । उनले भने,‘अहिले पनि भारतमा लाखौं नेपाली रोजगारीमा जान्छन् । तर, बैदेशिक रोजगारीमा परेका थिएनन् ।’

प्रधानमन्त्री प्रचण्डले भारतमा रोजगारीका लागि जाने नागरिकले सम्वन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिप्रकाबाट काम गर्न जाने अनुमति पत्र लिनु पर्ने बताए । यसका लागि एक महिनाभित्र छुट्टै कार्यविधि बनाएर लागू गर्ने उनले बताए । यसरी जानेहरुको साढे १२ लाखको म्यादी जीवन बीमा हुनेछ । कामको सिलसिलामा मृत्यु भएमा पीडित परिवारले बीमाका साथै वैदेशिक कल्याणकारी कोषबाट सहित डेढ लाख पाउनेछन् ।

प्रधानमन्त्रीले बैदेशिक रोजगारीका लागि जानेहरुको बीमामा ५ लाखको घातक रोग बीमा थप गरेको घोषणा गरे । हाल १० लाखको म्यादी जीवन बीमा छ ।क्यान्सर, किड्नी फेल, दृहयघात, प्यारालाइसिस लगायतका १५ रोगलाई घातक रोगको सूचीमा राखिएको छ ।

माघ १५ गतेदेखि लागू हुने गरी घातक रोग वापत ५ लाख बीमांक बराबर बीमा हुने व्यवस्था गरिएको प्रधानमन्त्री प्रचण्डले बताए । साथै घातक रोग लागेर मृत्यु नभएको तर, शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म पाउनेछन् । बैदेशिक रोजगार प्रवद्धर्न बोर्डबाट ३ लाख र घातक रोग बापत ५ लाख गरी कुल १८ लाखसम्म पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्