कुलमान घिसिङलाई बेथानमा नागरिक अभिन्नदन गरिने



१५ माघ, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई गृह जिल्ला रामेछापको बेथानमा नागरिक अभिन्नदन गरिने भएको छ । रामेछाप बेथान–७ डहुमा जन्मिएर प्राधिकरणको प्रमुख बनेसँगै उपत्यकालाई लोडसेडिङमुक्त गर्नुको साथै देशलाई नै उज्यालो बनाउने अभियानमा लागको भन्दै भोली (आइतवार)  नागरिक अभिन्नदन गरिन लागेको हो । प्राधिकरणको प्रमुख भएको झण्डै पाँच महिनापछि घिसिङ गृह जिल्ला रामेछाप आउने भएपछि जिल्लावासी खुसी भएका छन् ।

२८५३ औ ज्या ल्होछार (चरा बर्ष)को अवसरमा डुह मावि डहुले आयोजना गरेको कार्यक्रममा घिसिङलाई नागरिक अभिन्नदन गर्न लागिएको हो । डहु माविका भूतपूर्व विद्यार्थी समेत रहेका घिसिङलाई विद्यालयका संस्थापक सदस्य प्रतापसिंह लामाबाट नागरिक अभिन्नदन गराउने कार्यक्रम रहेको डहु माविका प्रअ दलबहादुर लामाले रामेछाप न्युजलाई बताए । उनका अनुसार घिसिङको स्वागतको लागि सबै तयारी पूरा भएको छ ।
घिसिङले भूतपूर्व विद्यार्थी समाज डहुको तर्फबाट इन्र्टरनेट एक्सेस जडान र समाजसेवी एवं विद्यालय व्यवस्थापन समितिका सदस्य अम्बरध्वज लामाले हस्तान्तरण गर्ने सिसि क्यामराको उदघाटन गर्ने कार्यक्रम गर्ने रहेको प्रअ लामाले बताए । यो सँगै अब डहु माविमा हुने अध्ययन सिसि क्यामेरा मार्फत हुनेछ ।

प्रह लामाले भने,‘डहु माविमा पढेर देशलाई नै उज्यालो बनाउने अभियानमा लाग्नु भएका घिसिङलाई सम्मान गर्न पाउदा हामी खुसी छौ ।’ वि सं २०१८ सालमा स्थापना भएको डहु माविमा कुलमान घिसिङले २०२२ सालमा नौ बर्षको उमेरमा कक्षा १ मा भर्ना भएका थिए ।

डहु माविमा कक्षा एकमा भर्ना भएका घिसिङले जम्प गर्दै घिसिङले कुशेश्वर मावि बेथानमा कक्षा तीनमा भर्ना भएका थिए । प्राधिकराणको सातौं तहबाट सेवा शुरु गरेका घिसिङले एकै पटक नवौं तहमा जम्प गर्न सफल भएका थिए । प्राधिकरणको ११ औं तहमा काम गर्दै गरेका घिसिङलाई सरकारले विद्युत प्राधिकरणको प्रमुख बनाएको हो ।

घिसिङले अमर आदर्श स्कुल नयाँ बानेश्वरबाट एसएलसी उत्तिर्ण गरेका थिए । अमृत साईन्स क्याम्पसबाट आईएस्सी सकेपछी छात्रवृत्तिमा भारत पुगेका उनले जमशेरपुरबाट ईलेक्टोनिक ईन्जिनीयरीङमा डिप्लोमा पुरा गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स ईन इन्जिनीयरीङ पुरा गरेका घिसिङले एस ईन्स्टिच्युटबाट एमबिए गरेका छन् ।
गत भदौ २९ गते बसेको मन्त्रीपरिष्दको बैठकले घिसिङलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो । घिसिङले प्राधिकरणको नेतृत्व सम्हाले लगत्तै उपत्यकामा लोडसेडिङमुक्त गराउन सफल भएका थिए । उपत्यकामा लोडसेडिङ हटाउन सफल भएका घिसिङले अबको केही समयपछि नै देशभर लोडसेडिङ नहुने गरी काम अगाडि बढाएको बताउदै आएका छन् ।

घिसिङले ठूला जलविद्युत आयोजनालाई अगाडि बढाउने कामलाई तिब्रता दिएका छन् । प्रहरीको सहयोगमा विद्युत चारी गर्ने कर्मचारीलाई समेत कारवाही गर्न सफल भएका घिसिङले विगत लामो समयदेखि एउटै स्थानमा बसेर अवैध काम हुने भएको निष्कर्ष निकाल्दै एकै पटक प्राधिकरणका २५ सय जना कर्मचारीको सरुवा गरेका छन् ।
कुलमान घिसिङको सबै परिवार काठमाडौंमै बस्दै आएका छन् । गत बर्ष मात्र घिसिङको आमा सेतीमाया तामाङको निधन भएको थियो । कुलमानका बुबा कृपासिंह घिसिङ भने हाल काठमाडौंमै बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्