नर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई सरकारको निर्देशन



२० माघ, काठमाडौं ।
सरकारले स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई औपचारिक रुपमा पत्रचार गर्ने निर्णय गरेको छ । प्रमुख दलहरुबीच निर्वाचनको मिति घोषणा गर्न सहमति जुटन नसकेपछि बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको तयारीका लागि आग्रह गर्दै निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो ।
२०७४ वैशाख मसान्तदेखि जेठ १० गतेभित्र निर्वाचन गर्ने तयारी गर्न आयोगलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले बताए । सरकारले दुई नम्बर प्रदेशको सीमांकनको विषयमा विवाद भइरहेकाले त्यसको अध्ययन गरी सुझाव दिन समिति गठन गरेको छ ।

स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित समितिमा आपूर्तिमन्त्री दीपक बोहोरा र उद्योग मन्त्री नविन्द्रराज जोशी सदस्य छन् । समितिलाई दुई हप्ताभित्र अध्ययन प्रतिवेदन सरकारलाई बुझाउन भनिएको सञ्चारमन्त्री कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्