पुननिर्माणमा नेपाली सेना परिचालन गरिने



२२ माघ, काठमाडौं ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पनुनिर्माणको कामलाई तिब्रता दिने नेपाली सेनालाई डकर्मी तालिम दिन शुरु गरेको छ । नेपाली सेनाका दक्ष कालीगढलाई एक सातासम्म भुकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिन थालिएको हो ।
प्राधिकरणका तर्फबाट करिब १४ जना प्राविधिक इन्जिनियरहरुले सेनाका २ सय जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिन शुरु गरेका हुन । तालिम सकेर सेनाका दक्ष जनशक्तिले फागुनको पहिलो सातादेखि भुकम्प प्रभावित जिल्ला रामेछाप, ओखलढुंगा र सिन्धुलीमा गएर स्थानीय बासिन्दालाई डकर्मी सम्बन्धी तालिम दिनुका साथै भुकम्प प्रतिरोधी घर निर्माणमा सहयोग गर्नेछन् ।
भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणका लागि प्राविधिक जनशक्तिको अभाव भएपछि प्राधिकरणले सुरक्षाकर्मीहरुलाई तालिम दिएर जिल्ला पठाउने योजना अघि सारेको हो । रक्षामन्त्री बालकृष्ण खाँडसहितका उच्च अधिकारी र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलसहितको टोलीबीच भएको बैठकले सेनालाई तालिम दिएर पुननिर्माणमा खटाउने सहमति गरेको थियो । प्राधिकरणले शसस्त्र प्रहरीलाई पनि तालिम दिएर पुननिर्माणको काममा जिल्ला खटाउने गरि आवश्यक गृहकार्य गरिरहेको बताएको छ ।
त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण तथा पुर्नस्थापनाको पाँच बर्षे योजनाको खाका तथा प्राधिकरणको निर्देशक समितिको निर्देशन बमोजिमको समयसीमाबद्ध कार्ययोजना समेत समावेश गरी पुरै अवधिको विस्तृत कार्ययोजना तयारी शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्