दक्ष जनशक्ति नहुँदा रामेछापको पुननिर्माणमा समस्याः आचार्य



२२ माघ, रामेछाप ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण रामेछापका कार्यालय प्रमुख ऋषिराज आचार्यले तालिम प्राप्त डकर्मी नहुँदा पुननिर्माणको कामले गति लिन नसकेको बताएका छन् । उनले पुननिर्माणको लागि एक हजार मात्र घर निर्माण गर्ने डकर्मी हुँदा समस्या भएको बताएका हुन् ।
प्रेस चौतारी नेपालको १९ औ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल रामेछापले शनिबार सदरमुकाम मन्थलीमा आयोजना गरेको पुननिर्माण प्रक्रियामा पत्रकारहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा उनले अपेक्षा अनुसार पुनिर्माणको कामले गति लिन नसकेको बताए ।

रामेछापमा अहिलेसम्म ६ सय घरहरु बनेको, ३ हजार घरहरु निर्मानाधिन अवस्थामा रहेको जानकारी दिदै उनले जिल्लामा पुननिर्माणका लागि ४ हजारका भूकम्प प्रतिरोधात्मक घर बनाउन सक्ने तालिम प्राप्त डकर्मीको आवश्यकता रहेको बताए ।
भुकम्प गएको झण्डै २१ महिनाको अवधिमा जिल्लाका १६ गाविसमा तालिम प्राप्त डकर्मीहरु पठाउन नसकिएको बताउदै विभिन्न संघ संस्थाहरुको सहयोगमा २ सय जना डकर्मीहरुलाई तालिम दिने काम भइरहेको बताए । प्रमुख आचार्यले जिल्लामा प्रयाप्त ईन्जिनियर, पानी काठ लगायतको समस्या भएको औल्याउदै अहिले २ नगरपालिका र ४५ गाविस मध्य १७ वटा गाविसहरुमा पानीको अभाव रहेको बताए ।
‘जोखिममा रहेको बस्तीहरुलाई कहाँ राख्ने भन्ने बारेमा अझै निश्चित नभएकाले पनि पुननिर्माणका काममा समस्या छ’,उनले भने ।
प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष यूनिक बिफा घिसिङको अध्यक्षता भएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका नेता,सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्र,जिल्ला विकास समितिका योजना अधिकृत लक्ष्मीप्रसाद अधिकारी, पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्