रामेछापमा दलितले मन्दिर प्रवेश गर्दा ५ हजार जरिवाना



२३ माघ, रामेछाप ।
सरकारले छुवाछुत अन्त्य भएको घोषणा गरेपनि रामेछाप जिल्लामा दलितले मन्दिर प्रवेश गरेको भन्दै पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ । संविधानले नै छुवाछुत गर्न नपाइने ग्यारेन्टी गरेपनि रामेछाप बेताली–३ का कृष्णबहादुर बिकलाई मन्दिर प्रवेश गरेको निहुँमा डर र त्रास देखाएर जरिवाना तिराईएको हो । बेताली गाविसमा रहेको सेरकेशरी मन्दिरमा प्रवेश गरेर दर्शन गर्ने क्रममा मन्दिरका पुजारी छत्रबहादुर बुढाथोकी लगायतले ज्यान मार्ने धम्की दिदै पाँच हजार रुपैयाँ जरिवाना गराएको पीडित कृष्णबहादुर विकले रामेछाप न्युजलाई बताए ।
उनले भने,‘भगवान सबैको साझा हो, भगवान मान्ने भएरै मन्दिरभित्र दर्शन गर्न छिडेको थिए तर पुजारी सहितका केही व्यक्तिले दलितले मन्दिर प्रवेश गर्दा अछुतो भयो अब पाँच हजार तिर्नु पर्छ भनेर धम्की दिए ।’ ज्यानै जाने अवस्थामा आफूले बाँध्य भएर पैसा तिरेको बताउदै विकले आफूले मन्दिरको दर्शन गरेको थाहा पाएपछि पुजारीले मन्दिरमा पुजा नगर्ने भनि निस्किएको बताए ।
बिना अपराध पनि आफूमाथि अन्याय भएको भन्दै बिकले न्यायको लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिने बताए । उनले भने,‘समाजमा के दलितले मन्दिरमा पुजा गर्न हुँदैन भनेर कुन धर्म शास्त्रमा लेखिएको छ ? हामी पनि यही समाजमा मान्छे हो, दलित भएकै कारण अब सधै थिचोमिचो र हेपाइ खाएर बस्न सकिन्छ, दोषीलाई कारवाही गर्नुपर्छ ।’ जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी कुमुद ढुङगेलले पीडितले उजुरी दिए दोषीलाई कानुन अनुसार कारवाही गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘मन्दिरमा सबैले पूजा गर्न पाउछन, उजुरी परेपछि घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारवाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्