भुकम्प गएको २२ महिनापछि रामेछापमा ५ सय घर पुननिर्माण



२५ माघ, रामेछाप ।
भुकम्प गएको २२ महिनापछि रामेछाप जिल्लामा ५ सय नीजि घर पुननिर्माण कार्य सम्पन्न भएको छ । पहिलो किस्ता लिएपछि जिल्लाभर निजी घर पुननिर्माणको कामले गति लिएको छ । भुकम्प पीडितले समयमा नै पहिलो किस्ता नपाउदा पुननिर्माणको काममा ढिलाई भएको थियो । गत असोज महिनाबाट सरकारले भुकम्प पीडितलाई घर निर्माणको लागि पहिलो किस्ता पचास हजार रुपैयाँ प्रदान गरेपछि भुकम्प पीडितहरु घर निर्माणमा जुटेका छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषि आचार्यले छ महिनाको अवधिमा जिल्लामा पाँच सय नीजि घर पुननिर्माण भएको बताए । उनले रामेछाप न्युजसँग भने,यस बर्ष नौ हजार घर पुननिर्माण गर्नको लागि दोस्रो किस्ता निकासा मागिएको छ, पुनिर्माणको कामले गति लिएको छ तर अपेक्षा अनुसार काम हुन सकेको छैन् ।’ उनले हाल तीन हजार घरहरु पुननिर्माण भइरहेको बताउदै जिल्लाका दुई वटा नगरपालिका र ४५ गाविसमा नै पुननिर्माणको काम भइरहेको बताए ।
दक्ष गालिगढको अभावमा गौश्वरा, बेथान, खनियापानी, राकाथुम, मुझवा, गुन्सी, भिरपानी, चनुख, देउराली, गुम्देल, प्रिति, कुभकास्थली लगायतका गाविसमा अझै पनि पुननिर्माणको काम अगाडि बढ्न नसकेको प्रमुख आचार्यल रामेछाप न्युजलाई बताए ।

पुननिर्माणको लागि पानी,काठ प्राविधिक र दक्ष गालिगण्को पनि अभाव देखिएको छ । रामेछाप नगरपालिका, मन्थली नगरपालिकासँगै पकरवास, भिरपानी, राकाथुम, खनियापानी, मझुवा, रामपुर हिमगंगा, बेथान, देउराली लगायतको गाविसमा पानी नहुँदा पुननिर्माणको काम नै प्रभावित भएको छ । प्रमुख आचार्यको अनुसार पुननिर्माणको काममा हाल जिल्लाभर १ सय ६ जना प्राविधिक खटिएका छन् ।

तस्बीरः ऋषि आचार्यबाट । 

प्रतिक्रिया दिनुहोस्