अवदेखि सवै जिल्लामा विषेशज्ञ चिकित्सक र आकस्मिक शल्यक्रिया सेवा



२६ माघ,काठमाडौ ।

देशभरका थप १३ जिल्ला अस्पतालहरुमा आगामी फागुन १ गते देखि नै विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा संचालन हुने भएको छ । अन्य जिल्लाहरुमा पनि फागुनको पहिलो हप्ता भित्रमा सेवा सुरु भईसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले सम्मपनि विषेशज्ञ चिकित्सक र आकस्मीक शल्यक्रिया सेवा नभएका सवै जिल्ला अस्पतालहरुमा सेवा सुरु गर्ने निर्णय मन्त्रालयले बुधबार गरेको मन्त्रालयको चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले बताए । १ गते देखि सेवा सुरु हुने अस्पतालहरुमा सर्लाही, धादिङ, रोल्पा, गोर्खा, अर्घाखाँची, उदयपूर, धनकुटा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, नुवाकोटको त्रिशुली र बाग्लुङको बुर्तिवाङ रहेका छन् ।

विभिन्न स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुसँगको सहकार्यमा सेवा सुरु गर्नेगरी स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रीस्तरीय निर्णय गरेर त्यसका लागि आवश्यक व्यवस्था मिलाउनु निर्देशन दिएका छन् । मन्त्रालयको निर्णय अनुसार, अवदेखि ती अस्पतालहरुमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एम एस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाईने लामिछानेले बताए ।
अस्पतालहरुका लागि आवश्यक उपकरण र वित्तिय श्रोत मन्त्रालयले नै व्यवस्था गरिदिने भएको छ । सेवालाई प्रभावकारी बनाउन तथा श्रोत साधनको व्यवस्थापनका लागि सर्वपक्षीय एक संयन्त्र समेत गठन गर्ने व्यवस्था गरिएको छ । मन्त्रालयको यो निर्णयसँगै फागुनको पहिलो हप्ता भित्रमा देशभरका सवै जिल्ला अस्पतालहरुमा चौविसै घण्टा बर्षभरी विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा संचालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्