रामेछापको भू–भाग गुम्दा पनि किन मौन छ प्रशासन ?



२७ माघ, काठमाडौं ।
समयमा नै जिल्लाको सीमाना किटान गर्न नसक्दा रामेछाप जिल्लाको धेरै हेक्टर जमिन सोलुखुम्वु र दोलखा जिल्लाले लैजाने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले समन्वय नगर्दा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोलुखुम्बु जिल्लासँग सीमाना जोडिएको गुम्देल गाविसको केही भाग गुम्न लागेको हो ।

तस्बीरः देवशकंर पौडेलको फेसबुकबाट

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले समन्वय भइरहेको र सोलुसँग विवाद रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘गृह मन्त्रालय र भूमिसुधार मन्त्रालयसँग समन्वय भइरहेको छ ।’ तर जिल्लामा प्रजिअ भएर बसेको धेरै समय वितिसक्दा पनि उनले पर्याप्त पहल र चासो नदेखाएको गुनासो बढेको छ ।

गत माघ १५ गते मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसी सहित दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा तथा रामेछापका प्रजिअ अधिकारी सहितको टोलीले सीमाना विवादको वारेमा छलपल गरेपनि केही निष्कर्ष निस्कन सकेन ।
छलफलमा सोलुखुम्बका प्रजिअलाई छलफलमा सहभागी हुन पत्राचार गरेपनि पूर्वाञ्चलका क्षेत्रीय प्रशासकको उपस्थितिविना आफू एक्लै नआउने बताएपछि समस्या ज्यूकोत्यू रहेको छ । प्रशासक केसीले भने आफुहरुले सम्वन्धित जिल्लाका सांसदहरुसँग पनि छलफल भएको तर सोलु जिल्लाले आफ्नो हो भनेर हठ नछोडेका कारण केही पनि प्रगति हुन नसकेको बताए ।
जिल्लाको पर्यटकीय क्षेत्र चुचुरेको जमिन अर्को जिल्लाले लौजाँदै गर्दा प्रजिअ अधिकारीले भने खासै चासो देखाएको भन्दै स्थानीय आक्रोश व्यक्त गरेका छन् । छलफलमा सहभागी दोलखाका सिडिओ बोहोराले भने पुरानो राजपत्रमा केही विवाद भएकाले समस्याको समाधान हुन नसकेको बताए ।

गुगल

विवादवारे बुझ्न खोज्दा सोलुखुम्वुको प्रजिअ उमेश पाण्डेले भने विदामा रहेकाले सवै डिटेल भन्न गाह्रो भएको रामेछाप न्युजलाई बताए । सोलुखुम्वु जिल्लाले विवाद भएका सवै क्षेत्रको जमिनको फाइलिङ गरेको र आफू विदा सकाएर कार्यालय फर्किएपछि रामेछापका प्रजिअसँग छलफल गर्ने उनले बताए ।

त्यसैगरी जिल्लाका प्रशासकहरुले बलैमा सचेत नहुँदा जिल्लाले दुई वटा महत्वपूर्ण प्रयटकीय क्षेत्र गुमाएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दोलखा र रामेछापको सीमाना क्षेत्रमा रहेको जट्टापोखरी, पाँचपोखरी क्षेत्र विसं २०३४ सालभन्दा अगाडि रामेछापको रहेको थियो । त्यस्तै क्षेत्र नं २ को शैलुङ (हालको दोलखा)को आधाभन्दा धेरै भाग दोलखाले आफ्नो जिल्लामा ल्याएको थियो । पर्यटकीय स्थल सैलुङ २०३४ साल अघि रामेछापको नाममा नापी रहेको थियो । यि दुवै पर्यटकीय क्षेत्र हुन् ।

जिल्ला प्रशासन कार्यालय वेलैमा सोलुखुम्वुसँग विवादको समाधान गरेर रामेछापको भू–भाग मिलाउन नसके उत्तरी क्षेत्रको जमिन र पर्यटकिय क्षेत्र गुम्ने खतरा रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । २०३४ सालमा नापी भएर राजपत्रमा प्रकाशित भएपछि जिल्लाले यी ठाउँ गुमाएको थियो । दोलखा जिल्लाले समयमा नै बुझेर पर्यटकीय क्षेत्र आफ्नो जिल्लामा पार्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्