रामेछाप नगरपालिकाका ८० घर बिजुलीबाट बञ्चित



२९ माघ, रामेछाप ।
रामेछाप नगरपालिकाका ८० घर परिवार बिजुली बत्ती बाल्नबाट बञ्चित भएका छन् । रामेछाप नगरपालिका–७ का मुढेखोला, मिम्लेखोला, गुर्दमडाँडा, रजयछाप धनेघाटका बासिन्दा बिजुली बाल्नबाट बञ्चित भएका हुन् । नगरपालिकाभित्र विद्युत खानेपानी स्वास्थ्य शिक्षा लगायतका अत्यावश्कीय वस्तुको सुविधा हुनुपर्ने भएपनि हालसम्म रामेछाप नगरपालिकाभित्रकै बासिन्दाले बिजुली बाल्न पाएका छैनन् ।

स्थानीय बिनोदकुमार श्रेष्ठले विगत ७ वर्ष अघिबाट बिद्युतीकरणको काम सुरु भएपनि अझैसम्म अध्याँरोमै बस्न बाँध्य भएको बताए । रामेछाप नगरपालिकाको थुम्का भन्ने ठाउँबाट सुरु गर्नुपर्ने भएपनि करिब ३ किलोमिटर तल मुढेखोलाबाट पोल गाढ्ने काम थालिएको थियो । बीचको भाग थुम्कादेखि मुढेखोलासम्म दुई बर्ष अघि जिल्ला विकास समितिको सहयोगमा पोल गाढन् काम सम्पन्न भएपनि तार र ट्रान्समिटरको अभावले अझैसम्म विस्तार हुन नसकेको श्रेष्ठले रामेछाप न्युजलाई बताए ।
विद्युत प्राधिकरण रामेछापले चार बर्ष अघि नै बिजुली बाल्न आश्वासन दिएपनि अलिहेसम्म आफूहरु अध्याँरोमै बस्न बाध्य भएको स्थानीयको गुनासो छ । विद्युत प्राधिकरण कार्यालयबाट पटक–पटक आश्वासन पाएपनि बिजुली बाल्न नपाएको बताउदै श्रेष्ठले भने,‘पोल त आयो तर तार र ट्रान्समिटर आएन, पोल हेरेर चित्त बुझाउन बाँध्य छौ ।’

निर्वाचनको बेला उम्मेदवारले बिजुली बत्ती बालेर गाउँ झिलिमिलि पारिदिने भनेर बाचा गरेपनि अलिहेसम्म बिजुली बल्न नसकेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । रामेछाप जिल्ला क्षेत्र नम्बर १ का सांसद आङटावा शेर्पाले अबको दुई बर्षभित्र जिल्लाको सबै नगरपालिका र गाविसमा बिजुली बल्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘रामेछाप नगरापलिकाका बासिन्दालाई मात्र होइन सिंगो रामेछापलाई नै झलमल पार्ने योजनमा लागेको छु ।’ तर स्थानीयले भने नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले वेवास्था गरेको बताएका छन् ।

रामेछाप जिल्लामा बिद्युतीकरण हुन बाँकी रहेका ३३ वटा गाविसमा आगामी दुई बर्षभित्र विद्युतीकरण गर्ने नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । बिजुली बाल्न नपाएका रामेछाप नगरपालिका बासिन्दाले रामेछाप जिल्लामै जन्मिएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई भेटेरै गुनासो गर्ने भएका छन् । श्रेष्ठले भने,‘जिल्लाको प्राधिकरणमा पटक–पटक आश्वासन पायौ, राजनीतिक दललाई गुहार माग्यौ, अब बिजुली बाल्न आशा बोकेर विद्युत प्राधिकरणका प्रमुखलाई नै भेटेर समस्या सुनाउने योजनामा छौ ।’ त्यसैगरी मन्थली नगरपालिकाको भटौली गाविसका केही वडामा पनि अझै विद्युतीकरण हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्