नेपालको इतिहासमा सिन्धुलीगढी



३ फागुन,काठमाडौँ ।
सागर कुमार ढकाल लिखित सिन्धुलीगढीसम्बन्धी ऐतिहासिक पुस्तक नेपालको इतिहासमा सिन्धुलीगढी को सोमबार राजधानीमा सार्वजनिक गरिएको छ । सिन्धुलीगढी संरक्षण तथा सम्वद्र्धन समितिले सो पुस्तक प्रकाशन गरेको हो ।
समृद्ध सिन्धुली नागरिक अभियानद्वारा आयोजित कार्यक्रममा लेखक ढकाल, नेपाल पर्यटन बोर्डका नि.निर्देशक सुनिल शर्मा, पर्यटन बोर्ड सदस्य घनेन्द्र श्रेष्ठ, साइकलयात्री देवेन्द्र बस्नेत र डाउनहिल साइकल च्याम्पियन लक्ष्मी मगरले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

सोही अवसरमा वीर गोरखाली सेनाले तत्कालिन ब्रिटिस सेनामाथि विजय प्राप्त गरेको सिन्धुलीगढीसम्म काठमाडौँबाट साइकल यात्रा (राइड टु सिन्धुलीगढी–२०१७) को घोषणा समेत गरिएको छ । ऐतिहासिक सिन्धुलीगढी, प्राकृतिक सौन्दर्यसहितको वातावरणमैत्री नागवेली सडकसँग (बीपी मार्ग) साइकल पर्यटन जोड्दै सिन्धुलीको सम्बृद्धि गर्न सकिने परिकल्पनासहित गत सन् २०१६ देखि सम्बृद्ध सिन्धुली अभियानले राइड टु सिन्धुलीगढी साइकल यात्रा गराउँदै आएको छ ।
कार्यक्रममा राइड टु सिन्धुलीगढीका संयोजक सौरभ ढकालले राइड टु सिन्धुलीगढी–२०१७ को तीन दिने यात्राबारे जानकारी गराएका थिए । तीनदिने साइकल यात्रामा नागवेली घुम्ती सडक, उकाली र ओराली गर्दै काठमाडौँबाट सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म पुग्दा एक सय ५३ किलोमिटर यात्रा तय गर्नुपर्छ ।

उनका अनुसार कात्तिक २३, २४ र २५ गते तीन दिने साइकल यात्रामा दुई सय ५० साइकल यात्रीको सहभागिता गराइने छ । राइड टु सिन्धुलीगढी–२०१७ का लागि आवेदन खुला गरिएको जानकारी दिँदै ढकालले भने,‘सन् २०१७ मा ब्रिटिस सेनामाथि गोरखाली सेनाले विजय प्राप्त गरेको २५० वर्ष पुग्ने भएकाले २५० साइकलयात्री लैजादै छौं ।’पर्यटन बोर्डका नि.निर्देशक शर्माले सार्वजनिक पुस्तक र सिन्धुलीगढीको पर्यटन प्रवद्र्धनबारे चर्चा गर्द नेपालको इतिहासमा विजयको महत्व राख्ने सिन्धुलीगढीलाई सम्पदा र साइकल पर्यटनको रुपमा विकास गनुपर्ने बताए । साइकलयात्री देवेन्द्र बस्नेतले नेपालमा साइकल पर्यटनको सम्भावना रहेपनि निति निर्माण तहमा यसलाई व्यवस्थित गर्न नसकिएको गुनासो गरे ।

सञ्चारकर्मी लीलानाथ घिमिरेले नेपाली इतिहाससम्बन्धी खोज र अनुसन्धानकर्ताका लागि नेपालको इतिहासमा सिन्धुलीगढी पुस्तक उपयोगी हुने बताए । कार्यक्रममा पुस्तकका लेखक सागर कुमार ढकालले सिन्धुलीगढी युद्ध नेपालको स्वाधिनतासँग गाँसिएकोले प्राप्त इतिहासको तथ्य खोजगरी पुस्तकको रुपमा पाठकबीच ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्