खैरेनीघाट र चौरी खोलमा पुल निर्माणको कामले लियो गति



५  फागुन , रामेछाप ।
पुल निर्माण कार्यमा ढिलाई गरेको भन्दै सरकारले कारवाही गर्ने सूचना प्रकाशित गरेपछि रामेछाप जोडने दुई महत्वपूर्ण पक्की पुल निर्माणको कार्यले गति लिएको छ । सुनकोसी नदीस्थित खैरेनीघाटमा रहेको रामेछाप–सिन्धुली पक्की पुलको दुई वटा पिलर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रामेछाप पट्टीको पिलरको लागि पहरोमा पिलर निर्माणको लागि आवश्यक खाल्डो खन्ने काम सम्पन्न भएको निर्माण कम्पनीले बताएको छ ।

ठेकेदार कम्पनीले यस बर्ष तीनवटै पिलर निर्माण सम्पन्न गर्ने र अर्को बर्ष गाडि गुडाउने गरी काम गरिरहेको जनाएको छ । त्यसैगरी चौरी खोलमा निर्माणाधिन रामेछाप–काभ्रे जाड्ने पक्की पुल निर्माणको कायले पनि गति लिएको छ । चौरी खोलमा पनि धमाधम पिलर निर्माणको काम भइरहेको छ ।

रामेछाप २ नम्बर क्षेत्रका सांसद एवं नेकपा माओवादी केन्द्रका नेता श्यामुकमार श्रेष्ठ ‘कुशल’ले पुल निर्माण कार्य आशा लाग्दो ढंगले अगाडि बढेको बताए । उनले भने,‘पटक–पटक आग्रह गर्दा पनि वेवास्था हुँदै आएको थियो, यस बर्ष निकै राम्रो काम भएको छ, आशा छ अर्को बर्ष दुई पुल सम्पन्न हुन्छ ।’ महत्वपूर्ण पुल निर्माणमा ढिलाई हुँदा रामेछापवासीले निकै ठूलो सास्ती खेप्नु परेको बताउदै सांसद श्रेष्ठले रामेछाप न्युजसँग भने,‘काम समयमा सम्पन्न गर्न अनुगमन र ठेकेदार कम्पनीलाई सचेत बनाउने काम भइरहेको छ ।’

उनले विकास निर्माणमा हुने ढिलासुस्ती स्वीकार्य नहुने बताउदै समयमा नै विकास निर्माणका काम सम्पन्न नहुदा जनताले अनावश्यक हैरानी र सास्ती खेप्दै आउनु परेको बताए । खैरेनीघाटमा पुल निर्माण सुरु भएको नौ बर्ष वितिसकेको छ । निर्माण कार्यमा देखिएको अग्रसरताले आगामी एक बर्षमा निर्माण हुने आशा पलाएको स्थानीय बताउछन् ।

प्रतिक्रिया दिनुहोस्