मन्थली नगरपालिकालाई समृद्ध बनाउने १६ योजना



मन्थली नगरपालिका रामेछाप जिल्लाको सदरमुकाम पनि हो । मन्थली नगरपालिकामा हाल झण्डै ३५ हजार जनसंख्या रहेको छ । मन्थली नगरपालिका स्थापना भएको दुई बर्ष पुगेको छ । मन्थली नगरपालिको आम्दानीको स्रोत न्युन छ । तर आम्दानी बढाउनेदेखि मन्थली नगरपालिकालाई समृद्धि बनाउने योजना भने अगाडि सारिएको छ ।
२०७१ सालमा स्थापना भएको मन्थली नगरपालिका १३७.४ वर्ग किलोमिटर क्षेत्रफैलमा फैलिएको छ । तामाकोसी नदीको किनारमा अवस्थिति मन्थली नगरपालिका २०६८ सालका जनगणना अनुसार २८ हजार ६ सय ५७ भएपनि हाल झण्डै ३५ हजार पुगेको अनुमान नगरपालिकाले गरेको छ । नगरपालिमा १६ वटा वडा रहेको छ भने नगरपालिकालाई पूर्ण रुपमा साक्षर घोषणा गरिएको छ ।
कल्पना नै एउटा योजना हो भन्ने भनाईलाई आत्मसाथ गर्दै मन्थली नगरपालिका, नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दल, विभिन्न सरोकारवाला निकायको सामुहिक प्रयासमा मन्थली नगरपालिकालाई समृद्ध बनाउने योजना अगाडि बढाइएको हो । नगरपालिकाको सडक, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा सुधार गर्नेदेखि लिएर नगरपालिकाका बासिन्दाको आर्थिक जीवनस्तर उकास्ने योजना मन्थली नगरपालिकाले योजना सहित अगाडि बढाएको छ । मन्थली नगरपालिकाको हालको अवस्था, नगरपालिकालाई समृद्धि बनाउने योजना र आगामी दिनको योजना लगायतको विषयमा रामेछाप न्युजले मन्थली नगरपालिका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटासँग गरेको कुराकानीः–

पुरुषोत्तम सापकोटा, कार्यकारी अधिकृत, मन्थली नगरपालिका


नगरपालिमा सडक पिचलाई प्राथमिकता
रामेछापको सदरमुकाम मन्थली राजधानीसँग नजिक छ । तर भौगोलिक दृष्टिकोणले विकास र पूर्वाधारको विशिष्ट समस्या छन् । नगरपालिकालाई प्रकृतिले दिएको चुनौती कसरी सामना गर्ने चिन्ता छ । नगरपालिकाले पूर्वाधार विकास गर्ने र सहज एवं सरल रुपमा सेवा दिने हो । नगरपालिकाको सबै वडामा सडक पुगेको छ । सबै वडाको केन्द्रसम्म यातायात सञ्चालन भएको छ । मन्थली नगरपालिकामा पिच सडक हाइवे मात्र हो । अन्यत्र कहींकतै पनि पिच छैन । कच्ची सडक मात्र छ । सामान्यतया नगरपालिकाभित्र पिच सडक, व्यवस्थित ढल, नाला हुनुपर्ने हो । तर मुख्य सडक नै साँघुरो छ । नगरपालिकाबासीको सुविधालाई ध्यान दिदै केही समयअघिबाट मुख्य सडकमा गुडने यातायातलाई वान वे गरेका छौं ।
सडक कच्ची हुँदा अध्याधिक रुपमा धुलो छ । देवकोटाचोकदेखि बसपार्कसम्म वैकल्पिक सडक कालोपत्रे गर्ने योजना अगाडि बढेका छौं । हाल उच्चस्तरीय ग्राविल गरेर गाडी सहज रुपमा गुडने व्यवस्था गरेका छौं । यो सडक सञ्चालनमा ल्याउदा मन्थली बजार व्यवस्थित भएको छ । यस सडकलाई नगरपालिकाकै नमूना सडकको रुपमा विकास गर्ने हाम्रो उदेश्य हो ।

नगरपालिकाको टोलटोलमा सडक
मन्थली नगरपालिकाभित्र सबै नगर क्षेत्र मात्र छैन । गाउँ पनि छ । समान ढंगले विकास गर्दै लैजानु पर्छ । वडाको सबै केन्द्रमा बाटो पुर्याएका छौ । अब प्रत्येक टोलटोलमा बाटो पुर्याउने लक्ष्य लिएका छौ । तर भौगोलिक कारणले कठिनाई भएको छ । पहाडमा बाटो खल्दा हुने वातावरणिय क्षतिलाई पनि हेर्नु पर्ने अवस्था छ । सकेसम्म सबै टोलटोलमा बाह्रै महिना यातायात सञ्चालन गर्ने उदेश्यको साथ काम गरेका छौं । सडक निर्माण र सहज रुपमा यातायात सञ्चालन गर्न नगरपालिका आफैंले डोजर किनेको छ ।

सबैलाई बिजुलीको सुविधा
नगरपालिकाको १४ ६, ७ र १० नम्बर वडाका बासिन्दा अहिले पनि बिजुली बाल्नबाट बञ्चित भएका छन् । साबिकको भटौलीमा आधाजस्तो भागमा बिजुली बत्ती पुगेको छैन् । बिजुली बत्ती आधारभुत पूर्वाधार हो । भटौलीमा हामीले बिजुलीको लागि चालिस लाख लगानी गरेका छौं । विद्युतीकारणको लागि ठूलो लगानी चाहिने भएकाले स्रोत पनि जुटाउने प्रयास गरिरहेका छौं । एक घरबाट अर्को घरमा बिजुली बत्ती पुर्याउन ६ लाख रुपैयाँ खर्च भएको छ । नगरपालिकाले बिजुली बत्तीलाई उच्च प्राथमिकता दिएको छ ।

पुननिर्माणमा तिब्रता
नगरपालिकामा ६ हजार भुकम्प पीडितले अनुदान सम्झौता गरेर घर पुननिर्माणको काम अगाडि बढाएका छन् । मन्थली नगरापलिकामा १० हजार घरधुरी छ । भुकम्पको कारण आधा भन्दा बढी घर ध्वस्त भएको छ । व्यवस्थित ढंगले एकीकृत वस्ती बनाउन सकेको भए सडक, खानेपानी, बिजुली, स्वास्थ्य शिक्षा लगायतका पूर्वाधारको विकास गर्न सहज हुने थियो । तर त्यस्तो योजना अगाडि सार्न सकिएन । स्थानीय निकायमा जनप्रतिनिधि भैदिएको भए एकीकृत वस्ती विकास गर्न सहज हुन्थ्यो । अहिले नगरपालिका कर्मचारीको भरमा चल्दै आएको छ । हामीले विकासमा लगानी गरेका छौ । प्रतिफल आएको छैन । अब प्रतिफल आउने गरी काम अगाडि बढाएका छौं ।

खानेपानीको समस्या समाधान गर्ने उपाय
नगरपालिकामा हाल ३५ हजार जनसंख्या छ । मन्थली गरपालिका सुख्खाग्रस्त क्षेत्र घोषणा भइसकेको छ । एक गाग्री पानी भर्न सात घण्टा कुर्नु पर्ने दर्दनाक अवस्था छ । मन्थली नगरपालिकामा कतै पनि खानेपानीको मुहान छैन् । सबै ठाउँमा तामाकोसी नदीबाट लिफ्ट सिस्टम मार्फत खानेपानी वितरण हुँदै आएको छ । नगरपालिकाको बढीमुहान क्षेत्रमा खानेपानीको हाहाकार छ । मन्थली बजारमा नै ठूलो समस्या छ । खानेपानीको समस्या सालु सुनारपानीमा पनि निकै छ । निकै दुःख कष्टको साथ नगरवासीले खानेपानीको जोहो गर्दे आएका छन् । यो बर्ष नै सबैलाई कसरी खानेपानी सुविधा दिन सकिन्छ भन्ने योजना बनाइरहेका छौं । सबैको घरघरमा धारो पुर्याउन नसकेपनि सात घण्टा कुर्नुपर्ने बाँध्यता हटाउने योजना बनाएका छौं ।

पानी नपर्नुको कारण अध्यायन गरिने
गत दस बर्षदेखि मन्थलीमा बर्षाको समयमा पनि पानी पर्दैन भन्ने स्थानीयको गुनासो छ । वीस बर्ष अघि बर्षाको समयमा पर्ने पानी अहिले किन परिरहेको छैन ? अहिले पानी नै पर्दैन कि त ? भन्ने धेरैको चासोको विषय बनेको छ । यसको अध्ययन गर्न वातावरण मन्त्रालयसँग आग्रह गर्नको लागि नरपारिषद्ले निर्णय गरेको छ । अध्ययले मानिसले नै सुधार गर्न सकिने हो कि होइन ? सकिने रहेछ भने सुधार गरेर जानु पर्यो । होइन भने प्रकृतिले दिएको चुनौतीको सामना गर्दै विकल्प खोज्नु पर्यो ।

नगरपालिकाभित्र दस हजार रुख रोप्छौं
नगरपालिकामा दैनिक रुपमा पानी हाल्ने काम सहज छैन् । सडक जताततै धुलाम्य छ । हावा चल्दा धुलो अत्याधिक छ । मन्थली नगरपालिकाभित्र हरियाली बढाउन दस हजार रुख रोप्ने योजना अगाडि सारेका छौं । पितृको स्मृतिमा रुख रोप्ने कामलाई प्रोत्साहन गरेका छौं । नगरपालिकाको सार्वजनिक क्षेत्रमा मात्र होइन निजी रुपमा पनि रुख रोप्नु पर्ने आवश्यकता छ । विवाह, जन्मदिनको अवसरमा रुख खोप्ने काम गर्न सके राम्रो हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न खोजेका छौं । दस हजार घरबाट कम्तिमा पनि एक÷एक वटा रुख रोप्दा पनि दस हजार रुख हुर्काउने योजना छ । रुख रोप्नेको नाम टिकार्डमा लेखिने छ । यसबाट हरियाली प्रर्बद्धन गर्न सहयोग पुग्नेछ । हामीले यस बर्ष मात्र बजार क्षेत्रमा पाँच सय विरुवा हुर्काउन सफल भएका छौं । संरक्षणको लागि नगरपालिकाले काम गरिरहेको छ । मुख्य बजारमा विरुद्ध टिगार्डको आधा आधा भएको छ । हरेक दिन चिसो हुन्छ । जनताले पानी हालेका छन् । बोट सरेका छ ।

नगरपालिकाभित्र व्यवस्थित डम्पिङ साइट निर्माण
फोहोर व्यवस्थापन गर्ने चुनौती पनि उत्तिकै छ । सुख्खाग्रस्त क्षेत्र भएकाले पनि व्यवस्थित डम्पिङ साइट निर्माण गर्नुपर्ने छ । विशेषगरी बजार क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापन गर्नुपर्ने छ । सययमा नै फोहोर सकंलन नगर्दा विभिन्न रोग फैलने खतरा छ । डम्पिङ साइट निर्माणको लागि पनि पहल गरेका छौं । फोहोरमैला प्राविधिक सहयोग केन्द्र ललितपुरमा समन्वय गरेर प्रशोधन मेसिन ल्याउने प्रयास पनि भएको छ । यस्तो मेसिन मार्फत प्रशोधन गर्ने कुहिने र नकुहिने छुटयाउने गरिन्छ । डम्पिङ साइट निर्माणको लागि दस रोपनी जग्गा भए पुग्छ । यसको लागि बढीमुहान क्षेत्र र सिद्धार्थ नगर क्षेत्रमा रहेको जग्गाको अध्ययन गरिरहेका छौं । भौगोलिक अवस्थाको कारण बढीमुहान क्षेत्र उपयुक्त देखिएको छ । नगरपालिकाले दैनिक रुपमा फोहोर उठाइरहेको छ । यस बापत नगरवासीसँग पचास रुपैयाँदेखि एक सय रुपैयाँसम्म उठाउने गरेको छ । फोहोर समस्या होइन,आम्दानीको स्रोत हो ।

वान किचेन टु डस्बिन
फोहार व्यवस्थापन गर्न अहिले नगरपालिकामा वान किचेन टु डस्बिन अभियान अगाडि बढाएका छौं । यसको लागि हजार वटा बाल्टी बाँडेका छौं । हरेकले सडने एउटा वाल्टीमा र नसडने अर्को बाल्टीमा हाल्नु पर्छ । पचास वटा ड्रम होटल र सुरक्षा निकायलाई प्रदान गरेका छौ । फोहोर व्यवस्थापन गर्न घरघरमा सिकाउने योजना अगाडि सारेका छौं । निकै सजिलो छ । चार पाँच फिटको खाल्डो खन्ने । हरेक दिन कुहिने नकुहिने छुट्टाछुट्टै खाल्डोमा हाल्ने । र माटो हालेर पुरिदिने । यो अर्गानिक मल उत्पादन गर्ने राम्रो प्रविधि पनि हो । नकुहिनलाई पुनः प्रयोग गर्न प्रोत्साह गर्ने । खाल्डो खन्न नहुने अवस्थामा रहेकाहरुलाई ड्रम दिने । गत साल १४ लाख फोहोर व्वस्थपनको लािग खर्च गरेका थियो । यस बर्ष घटाएर सात लाख रुपैयाँमा लगाएका छौं ।

नगरपालिको राजश्व बढाएर विकास निर्माण
जसलाई जे चाहिए पनि नगरपालिका हो । बार्षिक डेढ करोड कार्यालयमा खर्च हुन्छ । गत बर्ष नगरपालिको आम्दानी १८ लाख रुपैयाँ थियो । नगरपालिका भनेको लिने मात्र होइन, आफै आत्मनिर्भर बन्ने पनि हो । नगरपालिकामा एकीकृत सम्पत्ती कर लगाएका छौं । सरकारले एकीकृत कर लगाए बापत २ अकं प्रदान गर्ने गर्छ । यसले केन्द्रबाट प्रदान गर्ने अनुदानमा प्रभाव पार्छ । स्रोत विना नगरपालिकाले विकास गर्न सक्ने कुरा भएन ।
गत बर्ष १८ लाख रुपैयाँ आम्दानी गरेकामा यस बर्ष ६ महिनाको अवधिमा नै २२ लाख रुपैयाँ आम्दानी गरेका छौं । यस बर्ष हाम्रो आम्दानी १ करोड रुपैयाँ पुर्याउछौं । यसबाट तलब खुवाउने पैसा विकास निर्माणमा लगाउन पाइन्छ । एकीकृत कर जुन ठाउँबाट धेरै उठछ त्यहाँ ७० प्रतिशत लगानी गर्ने योजना बनाएका छौं ।

नगरपालिकाको आफ्नै दमकल

सुख्खाग्रस्त नगरपालिका भएकाले जुनसुकै बेला पनि आगलागी हुन सक्छ । ठूलो जन धनको क्षति रोक्नको लागि नगरपालिकालाई दमक खरिद शीर्षका स्थानीय विकास मन्त्रालयबाट प्राप्त  ६० लाख रुपैयाँबाट टेन्डर भइ दमकल खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दमकललाई दुई वटा प्रयोजनको लागि प्रयोग गर्ने सोच बनाएका छौं । एउटा आगलागी नियन्त्रण गर्न र अर्को सोही दमकलमा पानी छ्याप्ने मेसिन जोडेर मन्थलीको धुलो व्यवस्थापन गर्ने ।

बिजुली बत्ती नभएको स्थानमा सोलार जडान
विशेषगरी मन्थली नगरपालिकाको बसपार्कदेखि कटहरबोट क्षेत्र र भैसेश्वरदेखि बिनिता चोकसम्म ३३ वटा सोलार जडान गर्ने योजना अगाडि बढाएको छौं । सरकारले सोलार जडानको लािग २३ लाख रुपैयाँ प्रदान गरेको छ । यसमा उपभोक्ताले ३५ प्रतिशत हाल्नु पर्ने प्रावधान छ । यसै बर्ष सम्पत्ती कर र व्यवसायिक कर लगाएकाले उपभोक्तालाई बाधा पुग्ने भएकाले नगरवासीबाट संकलन भएको राजश्व नै सोलार जडानमा हाल्ने योजना बनाएका छौं । जहाँ कम घरहरु छन् । कलेज जाने बाटोमा समस्या छ । त्यस क्षेत्रमा सोलार जडान गछौं ।

मापदण्ड विपरीत घर निर्माण गर्न कडाई
नगरपालिकाले भवन निर्माण मापदण्ड, शहरी विकास मन्त्रालयले बनाएको शहरी विकास तथा वस्ती विकास सम्बन्धि आधारभूत मापदण्ड २०७२ जारी गरेको छ । घर निर्माणमा हामीले मापदण्ड लागू गरिसकेका छौं । विगतमा मापदण्ड लागू हुनु भन्दा अगाडि बनेका घरहरु उपभोक्ताले आफूले जोखिम मोलेर बनाएका घरहरु हुन् । ती घरहरुलाई अभिलेखिकरणसम्म गरिदिने हो । अब बन्ने घरहरु मापदण्ड अनुसार नक्सा पास गराएर मात्र बनाउनु पर्छ । मन्थली नगरपालिकामा १० हजार घरघुरी रहेका छौं । नागरिकहरुले घर बनाउने सात आठ ठाउँमा ल्याप्चे लगाउने लगाएका छौ । घर सार्वजनिक स्थलमा परेमा कसैको जग्गा मिच्यो भने भत्काउन म मन्जुर छु भनेर मात्र सहमति दिएका छौं ।
अहिले नगरपालिकाले चार तलासम्म घर निर्माणको लागि स्वीकृति दिएको छ । सजिलैसँग तीन तलासम्म पास हुन्छ । त्यस भन्दा माथि घर निर्माण गर्नु परेमा शहरी विकास तथा भवन डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौ । नगरपालिकामा चार वटा भन्दा बढी घर मापदण्ड विपरीत बनेको छ । मापदण्ड विपरीत निर्माण भएको घर पास हुँदैन । कानुनमा जे लेखिएको छ, त्यही गर्ने हो ।

निर्माण सामग्री जथाभावी राखे कारवाही
नगरपालिका क्षेत्रभित्र कसैले घर निर्माणको लागि ४८ घण्टासम्म राखे कारवाही गर्ने नियम बनाएका छौं । यसको लागि जिल्ला प्रहरी कार्यालय रामेछापसँग समन्वय गरिरहेका छौं । जथाभावी घडेरी निर्माणको क्रममा सडकमा माटो सहित ढुवानी सामाग्री दौडाए घडरी खारे बापत पनि शुल्क बझाउनु पर्छ । सुरुमा दुई हजार मात्र लिने सो पैसाले मानिस लगाएर सडकमा देखिएको फोहोर व्यवस्थापन गरिदिने तयारी गरेका छौं ।

६ करोडमा सुविधा सम्पन्न बसपार्क
नगरपालिकाभित्र अहिलेसम्म व्यवस्थित बसपार्क छैन । बसपार्क निर्माणको लागि प्रयास भएपनि बजेटको अभावमा रोकिएको थियो ।  नगरापकिला र शहरी विकास डिभिजन कार्यालमाको लागत सभागीतमा १ करोड रुपैयाँ काम यसै बर्ष गर्दैछौं । नगरपालिकाको ठूला पूर्वाधारको पैसा र डिभिजन कार्यालयको पचास लाख गरी एक करोड रुपैयाँको  यसै बर्ष काम हुने गरी टेन्डर भएको छ ।

मन्थली नगरपालिको सडकको गुरु योजना यसै बर्ष

गरपालिले सडकको गुरु योजना बनाउन सुरु गरिसकेको छ । अब नगरपालिका मुख्य सडक,सहायक सडकको चौडाइ लम्बाई कति हुने ? सडकदेखि कति मिटरमा घर बनाउन पाइन्छ ? बाटो चौडाई लम्बाई हरेक बाटो पिच गर्न कति खर्च लाग्छ । अब जति पनि सडको काम गर्छौ गुरुयोजना अनुसार हुन्छ । गुरु योजनामा सडकको कथा व्यथा सबै समावेश गरिरहेको हुन्छ । गुरु योजनाको बीस प्रतिशत काम सकिन्न बाँकी छ । मन्त्रालयले सहमति दिएपछि गुरु योजना कार्यान्वयमा जान्छ ।

प्रतिक्रिया दिनुहोस्