जाजरकोटमा बस खस्दा २३ जनाको मृत्यु, ४१ घाइते



२६ फागुन, जाजरकोट ।
जाजरकोटको सदरमुकाम खलंगाको बोहरागाउँ नजिकैको भीरबाट यात्रु बस खस्दा २० जनाकोे मृत्यु भएको छ । दुर्घटनामा ४१ जना घाईते भएका छन् । सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिममा पर्ने खारा बजारतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बस छिन्चु जाजरकोट खण्डको भेरीमालीका नगरपालीका–४ बोहरागाउ तल्लो मोडबाट २ सय मीटर तल पासागाड खोलामा खसेको हो । खलंगाबाट बेलुकी ४ बजे खारा बजारका लागि छुटेको भेरीगंगा यातायात ब्यबशायी समितिको उक्त बसमा ५० बढी यात्रु सवार भएको प्रहरीले अनुमान गरेको छ ।
घटनास्थल सदरमुकाम खलंगादेखि ५ किलोमिटरको दुरीमा रहेको छ । घटना स्थलबाट १२ जनाको शव निकालेको जाजरकोट प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए । घटनामा मृतकको संख्या बढ्न सक्ने तथा मृतक कसैको पनि सनाखत हुन नसकेको डिएसपी रिमालले बताए ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीय लगाएतले उद्धार गरीरहेका छन । क्षमता भन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीब्र बेगमा गाडी गुड्नु दर्घटनाको प्रमुख कारण भएको प्रहरीले अनुमान गरेको छ । घाईतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्