भ्रष्टाचार मुद्दामा दक्षिण कोरियाली राष्ट्रपति अपदस्थ



२७ फागुन, सियोल ।
भ्रष्टाचारमा मुछिएकी दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन(हेइ पदबाट बर्खास्त भएकी छिन् । प्रजातान्त्रिक प्रणालीबाट चुनिएको राष्ट्रपति यसरी बर्खास्त भएको यो देशकै पहिलो घटना हो ।

निकटका मित्र चोइ सुन–सिल संलग्न भ्रष्टाचार प्रकरणमा खेलेको भूमिकालाई लिएर उनलाई अभियोग लगाउने संसदको निर्णयलाई न्यायाधीशहरुले सर्वसम्मतिले सदर गरेका हुन् । पार्क पदमुक्त भएसँगै दक्षिण कोरियामा आगामी मे महिनाभित्रै नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने भएको छ ।गत डिसेम्बरदेखि पार्कलाई राष्ट्रपतिय दायित्वबाट निलम्बित गरिएको थियो र उनको जिम्मेवारी प्रधानमन्त्रीले सम्हालिरहेका थिए ।

यसैबीच पार्ककी साथी चोइमाथि सरकारी सहुलियतको बदलामा ठूला कम्पनीहरुसँग पैसा मागेको आरोपमा ठगी र भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । पार्कमाथि उनीसँग मिलेको आरोप छ । दुवै महिलाले आफूमाथिको आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

संवैधानिक अदालतका आठ न्यायाधीशहरुको प्यानलले पार्कमाथिको अभियोगलाई सदर गर्दै उनलाई अपदस्त गर्न पर्याप्त कारण रहेको निस्कर्ष निकालेको थियो । पार्कले आधिकारीक सूचनाहरुलाई गोप्य राख्नुपर्ने आचारसंहिताको उल्लंघन गर्दै थुप्रै दस्तावेजहरु लिक गरेको र चोइलाई राज्यका मामलाहरुमा हस्तक्षेप गर्न अनुमति प्रदान गरेर कानूनको उल्लंघन गरेको ठहर पनि अदालतले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्