पुरानागाउँलाई आधुनिक गाउँ बनाइन्छः सांसद श्रेष्ठ



२८ फागुन, रामेछाप ।
रामेछाप क्षेत्र नम्बर २ का सांसद एवं नेकपा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ ‘कुशल’ले मन्थली नगरपालिका अन्तर्गत रहेको पुरानागाउँलाई आधुनिक गाउँ बनाउने बताएका छन् । विगतमा नमूना गाउँ घोषणा गरेपनि बोलीमा मात्र सीमित भएको बताउदै उनले अब व्यवहारिक रुपमा नै पुरानागाउँलाई आधुनिक गाउँ बनाउने बताएका हुन् ।

मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँ वडाको प्रथम सम्मेलनको उदघाटन गर्दै सांसद श्रेष्ठले मन्थली नगरपालिकाको समान ढंगले विकास गर्नुपर्ने बताए । धार्मिक एवं पुरातात्कि महत्व बोकेको थानापति मन्दिरको विकासमा भूमिका खेल्ने बताउदै सदरमुकाम मन्थलीबाट मन्दिरसम्म सडक पुर्याउने बताए । ‘पुरानागाउँमा खानेपानीको समस्या समाधान गर्न वृहत्त खानेपानी आयोजना अगाडि बढाइन्छ’, उनले भने,‘पानीको हाहाकार हटाउन आयोजना अगाडि बढाउनुको विकल्प छैन् ।’
फरक प्रसंगमा सांसद श्रेष्ठले प्रमुख प्रतिपक्ष दल एमालेलाई जिम्मेवार बन्न आग्रह गर्दै निर्वाचनको वातावरण निर्माण गर्न लाग्नु पर्ने बताए । स्थानीय तहको निर्वाचन कुनै पनि वहानामा विथोल्ने कार्य मान्य हुँदैन उनले भने,‘संविधान कार्यान्वयन गर्न र जनताको अधिकार घरदैलोमा पुर्याउन स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा सम्पन्न गर्नुपर्छ ।’ कञ्चनपुर घटना निर्वाचन विथोल्न गरिएको नियोजित षडयन्त्र भएको बताउदै सांसद श्रेष्ठले नेपालमाथि भारतीय हस्तक्षप स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्