बेथानमा २ करोड ३१ लाखमा स्वास्थ्य चौकी



२९ फागुन, रामेछाप ।
सुनापति गाउँपालिकास्थित बेथानमा २ करोड ३१ लाख रुपैयाँ लागतमा सुरु भएको स्वास्थ्य चौकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पाँच रोपनी क्षेत्रफलमा निर्माण भएको दुई तले स्वास्थ्य चौकीमा ३२ वटा कोठा रहेका छन् ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रामेछापले आगामी जेठभित्र स्वास्थ्य चौकी निर्माण सम्पन्न हुने बताएको छ । गत कार्तिकबाट निर्माण सुरु भएको स्वास्थ्य चौकी यही जेठ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको डिभिजन कार्यालयले बताएको छ ।

निर्माणको जिम्मेवारी पाएको एनबी कन्ट्रसका सञ्चालक अम्बरध्वज लामाले निर्माणको असी प्रतिशत काम सम्पन्न भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘ठेक्का सम्झौता बमोजिम काम सम्पन्न गर्ने लक्ष्य थियो तर निर्माण सामाग्री ढुवानीमा भौगोलिक कठिनाईको कारण निर्माण कार्यमा केही ढिला हुन पुगेपनि समयमा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’

भवनको मुख्य भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भएको बताउदै लामाले फिनिसिङको कार्य मात्र बाँकी रहेको बताए । स्वास्थ्य चौकी सञ्चालनमा आएपछि सुनापति गाउँपालिकाको बेथान, खनियापानी, हिलेदेवी, दिमिपोखरी वडाका बासिन्दालाई प्रत्येक्ष सेवा पुग्नेछ । जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापले स्वास्थ्य चौकीको निर्माण कार्य सम्पन्न भएपछि डाक्टर सहितको सेवा दिने बताएको छ ।

त्यसैगरी बेथानको पिपलडाँडामा निर्माण गरिएको पुरानो पक्की स्वास्थ्य चौकी निर्माण कार्य भने अलपत्र परेको छ । एक बर्ष अघि ढलान भएपनि आर्थिक अभावमा भवन निर्माण अलपत्र परेको हो ।

प्रतिक्रिया दिनुहोस्