स्थानीय तहको निर्वाचनमा तीन फिट लामो मतपेटिका



२ चैत्र, काठमाडौं ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तीन फिट लामो मतमेटिकामा मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचनमा मतदाताले मतपत्रमा सात ठाउँ छाप लगाउनु पर्ने भएको छ। निर्वाचन आयोगले सात लहरको मतपत्र तयार गर्ने भएको छ ।

मतपत्रको देब्रेतर्फ रहेको सबैभन्दा पहिलो लहरमा मेयर वा अध्यक्षका लागि छाप लगाउनुपर्ने छ भने दोस्रो लहरमा उपमेयर वा उपाध्यक्षका लागि छाप लगाउनुपर्ने छ। तेस्रो लहरमा वडाध्यक्षका लागि छाप लगाउनु पर्नेछ। चौथो लहरमा भने दुईवटा छाप लगाउनुपर्ने हुन्छ। यहाँ खुला दुई जना वडा सदस्यका लागि भोट हाल्ने हो। मतपत्रको दायाँपट्टी रहेको अन्तिम लहरमा पनि दुई वटा छाप लगाउन पाइन्छ।

यहाँ वडा महिला सदस्य र दलित महिला सदस्यका लागि भोट हाल्नुपर्छ।
निर्वाचन आयोगका अनुसार निर्वाचनको मतपत्र करिब तीन फिट लामोसम्म हुने बताएको छ । निर्वाचनमा भाग लिने दलहरूको संख्या धेरै भएकाले मतपत्रको आकार लामो हुने भएको हो । काठमाडौंमा स्थानीय तह निर्वाचनमा भाग लिन सबैभन्दा धेरै ४७ दलले निवेदन दिएका छन्।

तराईका अधिकांश जिल्लामा ३० भन्दा धेरै दलले दर्ता गराएका छन्। स्थानीय तह निर्वाचनमा भाग लिन भनी आयोगमा नाम नलेखाएका तर संसदमा रहेका दलले पनि निर्वाचनमा भाग लिन सक्छन्। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्रको डिजाइन अन्तिम रूप दिने काम भइरहेको बताए। आयोगका अनुसार अनुसार चैत ५ गतेबाट मतपत्रको छपाइ सुरु हुनेछ। मतपत्र छपाइको जिम्मा आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिएको छ।

प्रतिक्रिया दिनुहोस्