रामेछापका ८ स्थानीय तहको केन्द्र परिवर्तन नहुने



२ चैत्र, रामेछाप ।
रामेछाप जिल्लामा ६ गाउँपालिका र २ नगरपालिका गरी आठ स्थानीय तह कार्यान्वयनमा आएको छ । लिखु गाउँपालिको केन्द्रमा केही विवाद भएपनि समाधान भएको जिल्ला समन्वय समितिले बताएको छ । सबै गाउँपालिकामा जिल्ला समन्वय समिति रामेछापले दुई नगरपालिकामा हाल जिम्मेवारी सम्हाल्दै आएका प्रमुख कार्यकारी अधिकृत र छ गाउँपालिकामा गाविस सचिवालाई निमित्त कार्यकारीको जिम्मेवारी दिएर खटाइएको छ । साबिकका गाविस नै वडामा रुपान्तरण भएकाले वडामा गाविस सचिव खटाइएको छ ।

रामेछाप जिल्लाबाट सिफारिस भएको गाउँपालिकाको केन्द्र परिवर्तन भएको भन्दै लिखु गाउँपालिकामा विवाद भएको थियो । तर अब स्थानीय तहको निर्वाचन अघि कुनै पनि स्थानीय तहको केन्द्र र सीमाकंन परिवर्तन नहुने बताइएको छ ।रामेछापका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी एवं जिल्ला समन्वय समितिले विज्ञप्ती जारी गरेर स्थानीय तहको निर्वाचन अघि गाउँपालिको केन्द्र र सीमाकंन परिवर्तन नहुने स्पष्ट पारेका छ ।

सरकारले कार्यान्वयनमा ल्याएको ७ सय ४४ स्थानीय तह राजपत्रमा प्रकाशन गरेर सोही बमोजिम गाउँपालिका, नगरपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाको नाम, संख्या र सीमाना तथा केन्द्रका सम्बन्धमा संशोधन गर्ने अधिकार गाउँपालिका र नगरपालिको निर्वाचित अंगलाई हस्तान्तरण भैसकेकोले हाललाई अन्यत्रबाट संशोधन गर्न नसकिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र जिल्ला समन्वय समिति एवं स्थानीय विकास अधिकारी निदेशराज पन्तद्धारा जारी विज्ञप्तीमा भनिएको छ–अन्यत्रबाट संशोधन गर्न नसकिने अवस्था रहेको हुँदा राजपत्रमा तोकिएका केन्द्रबाट मात्र कार्य सञ्चालन गरी सर्वसधारण जनतालाई सेवा प्रवाह गर्ने कार्यमा सहयोग पुर्याउन हुन सबैमा अपिल गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्