रामेछापमा एमाले–माओवादी चुनावी अभियानमा,कांग्रेसलाई जुठो



१२ चैत्र,रामेछाप ।
सरकारले वैशाख ३१ गतेको लागि घोषणा गरको स्थानीय तहको निर्वाचनको लागि रामेछापमा पनि चुनावी चहलपहल बढेको छ । सरकारले ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ संरचना अनुसार संगठन पुर्नगठन गरेका छन् । एमालेले जिल्ला कमिटीमा रहेका सदस्यहरुको आठ वटा टोली बनाएर अभियान जारी राखेको छ भने माओवादीले पनि जिल्ला कमिटीका नेताहरुको कार्यविभाजन गरेर चुनावी अभियानलाई जारी राखेको छ ।

रामेछापमा ६ गाउँपालिका र २ नगरपालिकामा गरी ६४ वटा वडा रहेका छन् । चुनावी अभियानमा एमाले र माओवादी केन्द्रीत भएपनि नेपाली कांग्रेसलाई भने जुठो परेको कारण सांगठानिक गतिविधि सञ्चालन गरेको छैन् । रामेछाप क्षेत्र नम्बर २ का पूर्व सांसद रामहरि ढुंगेले र फर्पूका कांग्रेसका नेता गजेन्द्र बहादुर खड्को निधन भएको कारण नयाँ संरचना अनुसार कुनै पनि कमिटी पुर्नसगठन गरेको छैन् । ढुंगेल र खड्काको निधन हुनु भन्दा अघि पनि कांग्रेले जिल्लामा कुनै कार्यक्रम सञ्चालन गरेको थिएन । कांग्रेसले पार्टीलाई जुठो परेकाले चैत्र १६ गतेपछि मात्र पार्टी संगठनको काम अगाडि बढाउने बताएको छ ।

गाउँपालिकामा कार्यकारी अधिकृत तोकिएसँगै गाउँगाउमा खुसीयाली छाएको छ । ६ वटा गाउँपालिका र २ वटा नगरपालिकामा कार्यकारी अधिकृतले जिम्मेवारी सम्हालेर काम सुरु गरिसकेका छन् । नगरपालिका, गाउँपालिका र वडामा एमाले र माओवादीले दैनिक रुपमा कार्यक्रम सञ्चालन गरिसकेका छन् । झण्डै वीस बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले गाउँगाउँमा चुनावी माहोल छाएको छ ।
चुनाव घोषणासँगै प्रमुख तीन पार्टी कांग्रेस एमाले र माओवादीमा वडा कार्यालय, गाउँपालिका र नगरपालिका प्रमुख मेयर को हुने भन्ने आन्तरिक छलफल पनि तीब्र रुपमा अगाडि बढेका छन् । एमालेले केन्द्रले नै उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । माओवादीले पनि उम्मेदवार छनोट कार्यविधि पारित गरिसकेको छ । तर कांग्रेसले भने अहिलेसम्म उम्मेदवार छनोट गर्ने मापदण्ड सार्वजनिक गरेको छैन् ।

चुनावी अभियान तीब्र बनाएका छौः सांसद श्रेष्ठ

नेकपा माओवादीका नेता एवं सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ले स्थानीय तह कार्यान्वयनमा आएसँगै पार्टीको संगठन पुर्नगठन गर्ने काम सम्पन्न भएको बताए । सबै वडामा कमिटी पुर्नगठनको काम सम्पन्न गरेर गाउँपालिका र नगरपालिको भेलाको कार्यक्रम सञ्चालन भइरहेको बताउदै उनले रामेछाप न्युजसँग भने,‘नयाँ संरचना र निर्वाचनले जनतामा उत्साह ल्याएको छ, माओवादीको कारण सिंहदरवारको अधिकार गाउँगाउँमा ल्याउन सफल भएका छौं ।’ सरकारले स्थानीय तह कार्यान्वयनमा ल्याएकै दिनबाट जिल्लामा नयाँ संरचना अनुसार कार्यक्रम सञ्चालन गरेको बताउदै श्रेष्ठले अहिले पार्टीको आन्तरिक संगठन सुदृढीकरणको काममा लागेको बताए । पार्टीले अहिले चुनावलाई केन्द्र बनाएर कार्यक्रम अगाडि बढाएको बताए ।

जुठो सकिएपछि कांग्रेसले कार्यक्रम थाल्छःन्यौपाने

नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले पार्टीलाई अहिले जुठो रहेको चैत्र १६ गतेबाट मात्र नयाँ संरचना अनुसार गाउँपालिका नगरपालिका र वडामा पार्टीको संरचना पुर्नसंगठन गर्दै चुनावी अभियान सञ्चालन गर्ने बताए ।

आन्तरिक रुपमा पार्टीलाई परिचालन गरिएको बताउदै उनले रामेछाप न्युजसँग भने,‘नगरपालिका,गाउँपालिका र वडा कार्यलयमा जिल्ला समितिका सदस्यहरु परिचालन भएका छन, औपचारिक कार्यक्रम भने जुठोपछि मात्र सञ्चालन गछौं ।’

सभापति न्यौपानेले आठ वटा टोली बनाएर जिल्लामा चुनावी अभियान अगाडि बढाउने बताए । सरकारले नयाँ संविधान अुनसार स्थानीय तह कार्यान्वयनमा ल्याएसँग गाउँगाउँमा परिवर्तन आएको सभापति न्यौपानेले बताए ।

चुनावी अभियान जुटेका छौंः कार्की

नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले स्थानीय तह कार्यान्वयनमा आएसँगै पार्टीले जिल्लाका ६४ वटामा नै कमिटी पुर्नगठनको कार्य सम्पन्न भएको बताए ।

उनले भने,‘पार्टी संगठनको पुर्नसंगठनसँगै आठ वटा टोली बनाएर चुनावी अभियान अगाडि बढाएका छौं ।’ स्थानीय तह अन्तर्गत नगरपालिकासँगै गाउँपालिका र वडामा जनताहरुको बीचमा नयाँ उत्साह छाएको बताउदै कार्कीले लामो समयपछि स्थानीय तह कार्यान्वयनसँगै हुन लागेको निर्वाचनमा जनतामा नयाँ जोश र जाँगर छाएको बताए ।

एमालेले वडा कार्यालयको उम्मेदवार छनोट गर्ने अधिकार जिल्ला कमिटीलाई दिएको छ भने गाउँपालिका र नगरपालिको उम्मेदवार छनोट गर्ने अधिकार प्रदेशलाई दिएको छ ।

रामेछापमा १७ राजनीतिक दल दर्ता
रामेछाप जिल्लामा स्थानीय तहको निर्वाचनको लागि १७ राजनीतिक दल दर्ता भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका राजनीतिक दल दर्ता भएका छन् । जिल्लामा एमाले र माओवादीले चुनावी अभियान तीब्र पारेका छन् । कांग्रेसलाई जुठो परेको कारण केही दिनपछि मात्र कार्यक्रम लिएर गाउँगाउँ जाने भएको छ भने अन्य राजनीतिक दलले चुनावी अभियान अगाडि बढाएको छैन् ।

निर्वाचनमा १ लाख ३० हजार मतदाता
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापका ६ गाउँपालिका र २ गरपालिकामा गरी १ लाख ३० हजार मतदाताले मतदान गर्ने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार १८ बर्ष उमेर पुगेका मतदाताको संख्या १ लाख ३५ हजार भएपछि बसाइँ सराई भएर गएका मृत्यु भएकाहरको संख्या घटाउन निर्वाचन आयोगलाई सिफारिस गरेर पठाएकाले १ लाख ३० हजार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्