रामेछापबाट माओवादीले पहिलो पटक घोषणा गर्यो उम्मेदवार



१३ चैत्र, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले आगामी वैशाख ३१ गते हुने निर्वाचनको लागि पहिलो पटक उम्मेदवारी घोषणा गरेको छ । माओवादीले मन्थली नगरपालिका–१ को अध्यक्ष पदमा नारायणदास श्रेष्ठलाई उम्मेदवार घोषणा गरेको हो ।
मन्थली नगरपालिका–१ को वडा अधिवेशनको अवसर पारेर माओवादी रामेछाप पहिलो पटक उम्मेदवारी घोषणा गरेको छ ।

पूर्व सभासद समेत रहेका माओवादीका मन्थली नगरपालिकाका इन्चार्ज तारानारायण श्रेष्ठले जिल्ला पार्टी र प्रदेशको स्वीकृति लिएर उम्मेदवारको घोषणा गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘पार्टीले गर्ने भेलासँगै अब उम्मेदवार घोषणको कामलाई पनि एकसाथ अगाडि बढाइन्छ, चैत्र २६ गतेभित्र जिल्लामा रहेका ६ गाउँपालिका र २ नगरपालिमा पार्टीको तर्फबाट उम्मेदवारको घोषणा हुन्छ ।’

मन्थली नगरपालिका–१ मा उम्मेदवार घोषणा गरेका नारायणदास श्रेष्ठ माओवादीका जिल्ला कमिटीका सदस्य र वाइसीयलको सचिवालय सदस्य हुन् । श्रेष्ठ शान्ति प्रक्रियामा आएसँगै माओवादीमा सक्रिय हुँदै आएका छन् । इन्चार्ज श्रेष्ठले उम्मेदवारी घोषणासँगै जिल्लामा चुनावी महोल बढ्दै गएको बताए । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै उम्मेदवार घोषणा गर्ने पहिलो पार्टी माओवादी बनेको छ ।

माओवादीले जनयुद्ध सुरु भएसँगै २०५३ साल पुष १९ गते माओवादीले बेथानमा रहेको प्रहरी चौकी कब्जा गरेको थियो भने २०६० सालमा युद्धविरामको समयमा दोरम्बामा तत्कालिन जनसरकार प्रमुख बाबुराम लामा सहितका २१ जनालाई तत्कालिन शाही सरकारले हत्या गरेको जिल्ला हो ।

प्रतिक्रिया दिनुहोस्