प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता



१४ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बीच बेइजिङमा भेटवार्ता भएको छ ।प्रधानमन्त्रीले सोमबार वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री र राष्ट्रपति सि जिनपिङबीच ३० मिनेट भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यसअघिको सरकारले गरेका पारवाहन र उर्जासम्बन्धी सम्झौताको प्रोटोकल, ट्रान्स बोर्डर इकोनोमिक जोन र रेलमार्गका बारेमा कुराकानी थिए ।

चिनियाँ राष्ट्रपति सिले नेपालका तर्फबाट उनको ड्रिम प्रोजेक्ट वान वेल्ट वान रोड परियोजनामा समर्थनको अपेक्षा राखेकोमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाएका छन् । आइतवार प्रधानमन्त्री प्रचण्डले चिनियाँ उपप्रधामन्त्री वाङ् यङस‌ंग भेटवार्ता गरेका थिए ।

चिनियाँ राष्ट्रपतिसँग भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझै नयाँ उचाईमा पुर्याउनुपर्ने चाहना नेपाली जनताले राखेको बताए ।प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार, उक्त अवसरमा भारतको गोवामा भएको भेटको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले यो नयाँ सम्बन्धबाट नेपाल र चीन दुबैले लाभ लिने समेत बताए ।

नेपालमा संविधान कार्यान्वयनका लागि स्थानीय चुनावको तयारी तीब्र भएको जानकारी गराउँदै प्रधानमन्त्रीले संविधानमा सबै पक्षको स्वीकार्यताका लागि सरकारले सबै पक्षसँग संवादको प्रक्रियालाई घनिभूत बनाउँदै आएको समेत बताए । उनले भने, “नेपालमा भइरहेको स्थानीय तहको चुनाव सम्पन्न गर्न चिनियाँ पक्षको सहयोगको अपेक्षा नेपालले राखेको छ ।

नेपालले आफ्नो भूमि प्रयोग गरेर चीनविरुद्धका कुनै गतिविधि हुन नदिने र एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धतालाई पालना गर्दै आएको प्रधानमन्त्रीले बताए ।चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’को अवधारणाले यो क्षेत्रमा अभूतपूर्व विकास गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “वान बेल्ट वान रोडको अवधारणालाई नेपालले पूर्ण सहयोग र समर्थन गरेको छ । एउटा छिमेकी भएको नाताले नेपाललाई यो योजनाको फ्रेमवर्कमा प्राथमिकता दिइनुपर्ने कुरामा हामी जोड दिन चाहन्छौं ।”

भेटका अवसरमा प्रधानमन्त्रीले नेपालको समग्र विकासका लागि चिनियाँ लगानीको समेत कुरा गरे । हालै मात्र सम्पन्न लगानी सम्मेलनमा उल्लेख्य मात्रामा चिनियाँ लगानीको प्रतिबद्धता देखिएकोमा धन्यवाद दिँदै प्रधानमन्त्री पर्यटनलगायतका क्षेत्रमा चीनको महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे । दुबै देशबीच आर्थिक विकासका लागि क्रस बर्डर रेल, सडक, ट्रान्सिमिशन जस्ता विषयलाई द्धिपक्षीय सम्बन्धको केन्द्रमा राख्नुपर्ने उनले बताए । नेपाललाई चीनसँग जोड्ने रेलवे निर्माण हुन सके यसले दुबै देशको सम्बन्धलाई थप उचाईमा पुर्याउने प्रधानमन्त्रीको भनाई थियो ।

राष्ट्रपति सीसँगको भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न अनुरोध गरे । प्रधानमन्त्री प्रचण्डको सम्बोधनपछि चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्बन्ध नेपालमा हुने राजनीतिक परिवर्तनबाट प्रभावित नहुने स्पष्ट पारे । भेटलाई प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक भएको बताएका छन् । नेपालले तातोपानी नाका खोल्न गरेको अनुरोधलाई प्रधानमन्त्री शीले सकारात्मकरुपमा लिएर यसबारेमा कुराकानी अगाडि बढाउने बताएको सचिवालयले जनाएको छ । सोही अवसरमा चीनका तर्फबाट स्थानीय निकायको निर्वाचनका लागि १३ करोड ६२ लाख नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्