रामेछापको विकास निर्माणमा हुने अवरोध स्वीकार्य छैनः प्रजिअ खत्री



१६ चैत्र, काठमाडौं ।
रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले रामेछापको विकास निर्माणमा हुने कुनै पनि अवरोध स्वीकार्य नहुने बताएका छन् । रामेछाप न्युजसँग कुरा गर्दै प्रजिअ खत्रीले विकास निर्माणमा अवरोध गर्नेमाथि प्रशासनले कडा कारवाही गर्ने बताएका हुन् ।
जिल्लामा सञ्चालित विकास निर्माणको कामलाई समयभित्र नै सम्पन्न गर्नको लागि निर्माण व्यवसायी र सरकारी कार्यालयका प्रमुखलाई निर्देशन दिएको बताउदै उनले विकास निर्माणमा कुनै अवरोध भए जिल्ला प्रशासन कार्यालयमा खबर गर्न पनि आग्रह गरेका छन् ।

विकास निर्माणसँग सरोकार राख्ने सरकारी कार्यालयका प्रमुख र निर्माण व्यवसायीसँग जिल्लामा भइरहेका विकास निर्माणको कामलाई गति दिनको लागि छलफल गरेको बताउदै प्रजिअ खत्रीले रामेछाप न्युजसँग भने,‘निर्माण व्यवसायीलाई कुनै अपठ्यारो पर्यो भने समस्याको समाधान गर्न र अवरोध पन्छाउन प्रशासन तयार छ तर समयमा नै काम सम्पन्न गर्नुपर्छ ।’
विकास निर्माणमा विभिन्न बहानाबाजी र ढिलासुस्ती स्वीकार्य नभएको बताउदै उनले रामेछापमा सञ्चालन भइरहेको विकास निर्माणमा रामेछापकै निर्माण व्यवसायी संलग्न भएकाले समयमा नै काम सम्पन्न गरेर जिल्लालाई सुविधा दिन आग्रह गरे । उनले भने‘निर्माण व्यवसायीले तोकेको समयमा गुणस्तीय ढंगले काम सम्पन्न गनुपर्छ ।’

निर्माण व्यसायीलाई पनि जति छिटो काम सम्पन्न गर्यो त्यति नै सहज हुन्छ, व्यसावसायीले बहाना बनाएर विकास निर्माणको काममा ढिलासुस्ती गर्नेमाथि प्रशासनले निगरानी गर्ने उनले बताए । निर्माण व्यसायीले उठाएका केही गुनासो तत्काल सम्बोधन गर्न सरकारी कार्यालयका प्रमुखलाई निर्देशन दिएको छु,प्रजिअ खत्रीले भने,‘प्रशासनले के सहयोग गर्नुपर्छ ? कुन क्षेत्रमा व्यवसायीका अपठ्यारा छन ? समस्याको समाधान गर्न र गाठो फुकाउन म जुनसुकै बेला पनि तयार छु, तर बहानाबाजी गर्ने र आलटाल गर्ने कुरा स्वीकार्य छैन ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका काम पुल, सडक, खानेपानी, लगायत जिल्लामा सञ्चालन भएका भौतिक पूर्वाधार निर्माणको काम अवरोध गर्ने, गुण्डागर्दी र दादागिरी देखाउनेलाई प्रशासनले छुट नदिने उनले बताए । ‘विगतमा के थियो मलाई थाहा छैन, अब दादागिरी देखाएर विकास निर्माणमा अवरोध पुर्याउने खोज्नेलाई कानुन अनुसार कारवाही हुन्छ’,प्रजिअ खत्रीले भने,‘राजनीति दलको अवरोध छन भने पनि निर्माण व्यवसायीले भन्नु पर्छ, म जस्तोसुकै अवरोध समाधान गर्न तयार छु ।’

निर्माणको क्रममा आपूर्तिको समस्यादेखि लिएर स्थानीय अवरोध समाधान गर्न प्रशासन तयार रहेको बताएपछि निर्माण व्यवसायीले पनि समयमा नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रजिअ खत्रीले बताए । उनका अनुसार समयमा नै विकास निर्माणको काम सम्पन्न हुने सके थप विकास निर्माणको कामलाई अगाडि बढाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्