रामेछापमा माओवादी पहिलो हो, कांग्रेस–एमाले दोस्रो हुने प्रतिस्पर्धामा



रामेछाप जिल्लामा चुनावी सगर्मी बढेको छ । राजनीतिक दलहरुले चुनावी अभियान थालेका छन् । गाउँगाउँमा उम्मेदवार छनोट गर्ने काम पनि अगाडि बढेको छन् । गाउँपालिका र नगरपालिकामा राजनीतिक पार्टीबाट उम्मेदवार बन्ने आकांक्षीहरु पनि टिकटको लागि दौडधुपमा लागेका छन् । गाउँपालिकामा कसलाई प्रमुख बनाउने भन्ने बहस र छलफलमा राजनीतिक पार्टीहरु जुटेका छन् ।

रामेछाप जिल्लामा नेकपा माओवादी केन्द्रले पार्टीको जनआधार भएको जिल्लाको रुपमा परिभाषित गर्दै आएको छ । ६ वटा गाउँपालिका र २ वटा गाउँपालिकामा पार्टीको तर्फबाट कसलाई उम्मेदवार बनाउने आन्तरिक गृहकार्यमा माओवादी लागेको छ । गाउँगाउँमा चुनाव अभियानमा माओवादी जुटेको छ । रामेछाप जिल्लामा माओवादीको चुनावी अभियान निर्वाचन, उम्मेदवार छनोट र समग्र रामेछापको विकासको बारेमा नेकपा माओवादी केन्द्रका युवा नेता एवंम पार्टीका विदेश विभाग सचिव युवराज चौलागाईसँग  रामेछाप न्युजले गरेको कुराकानीः–

युवराज चौलागाई,  युवा नेता, नेकपा माओवादी केन्द्र

रामेछापवासीले सुधारको महसुश गर्न सकेनन

रामेछाप जिल्ला  राणाशासनको बेलामा  पूर्व २ नम्बर जिल्ला थियो ।  त्यतिबेला राणाहरुले भन्सार विर्ताहरुलाई व्यवस्थित बनाउन जिल्लाहरु बनाएका थिए ।  पूर्वमा २ नम्बर जिल्लाको रुपमा रहदा रामेछापको क्षेत्रफल ठूलो थियो । पछि पञ्चायतकालमा रामेछाप जिल्लाको रुपमा स्थापना भयो । बहुदलिय व्यवस्थाले पनि रामेछाप जिल्लालाई सदर गर्यो । अहिले जिल्ला समन्वय समितिको रुपमा रामेछाप जिल्ला रहेको छ । विगतदेखि अहिलेसम्म रामेछापमा प्रशासनिक विभाजन देखिन्छ । रामेछापको  त्यहीँ संरचनाभित्र रामेछावासीले आफ्नो राजनीतिक अभ्यास गरिरहेका छन् । तर यत्रो बर्षमा पनि रामेछावासीमा खासै ठूलो परिवर्तन र सुधार हुन सकेको देखिदैन ।

पञ्चायदेखि गणतन्त्रसम्म पाँच मन्त्री

रामेछाप जिल्लामा पञ्चायकालदेखि अहिलेसम्म हेर्ने हो भने पाँच जना मन्त्री भइसकेका छन् । नवराज सुवेदी, कमल चौलागाई, आङछिरिङ लामा, लक्ष्मण घिमिरे र रामहरि ढुंगेल विभिन्न कालखण्डमा मन्त्री भएपनि रामेछापको विकासमा खासै फड्को मार्न सकेन । दर्जनौ व्यक्तिहरु राष्ट्रिय पञ्चायतको सदस्य भए ।  विभिन्न कालखण्डमा सांसद, सभासद पनि भए । तर दुर्भाग्य के छ भने नेपालको राजनीतिक इतिहासमा मौलिक पहिचान बोकेको रामेछाप जिल्लामा धेरै ठूलो आर्थिक प्रगति हुन सकेन ।

तीनलाल र जनयुद्ध

रामेछाप जिल्लाले नेपालको इतिहास निर्माणको लागि  धेरै सपुतहरु जन्माएको छ । राष्ट्रको शीर नै उच्च बनाएका छन् । रामेछापमा जन्मिएर पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । नेपालमा सिंगो कम्युनिष्ट पार्टीको जग हाल्नु भयो । गंगालाल जसले राणा शासनको विरुद्ध शाहदत प्राप्त गर्नुभयो ।  गंगालाल नेपाली जनताको अधिकार प्राप्त गर्नका लागि प्रतिकको रुपमा स्थापित हुनुभयो । कृष्णलाल अधिकारी पञ्चायात व्यवस्थाको विरुद्धमा प्रतिकात्मक रुपमा लडने एक जना यौद्धा हुनुहुन्थ्यो । जनयुद्धको क्रममा रामेछापमा धेरै व्यक्तिहरुले बलिदानी दिएका छन् । दोरम्बा हत्याकाण्डले नै गणतन्त्र प्राप्तिमा ठूलो योगदान गरेको छ । रामेछापले गर्नुपर्ने भूमिका राष्ट्रिय राजनीतिमा निर्वाह गर्दै आएको इतिहास छ । तर राष्ट्रले रामेछापप्रति अनुदार वा वेवास्था गरेको देखिन्छ ।

रामेछापमा स्थानीय तहको संख्या ११ वटा बनाउनुपर्छ

स्थानीय तहको पुर्नसंरचनमा रामेछाप जिल्लामा ६ वटा गाउँपालिका र २ वटा नगरपालिका कार्यान्वयनमा आएको छ । तर मेरो विचारमा रामेछापजस्तो भौगोलिक रुपमा विकट क्षेत्रमा १० देखि ११ वटा स्थानीय तहको संरचना आवश्यक हो । ठूलो संरचनाले जनतालाई सहजता भन्दा पनि अलि कठिनाई पार्छ  । यद्यपि यो विषय आगामी दिनमा पनि छलफल र बहसकै रुपमा अगाडि बढ्छ । अहिलेको  कायम भएको स्थानीय तहलाई स्थापित गर्ने काममा लाग्नु पर्ने खाँचो छ । गाउँपालिका र नगरपालिकाभित्र सम्भावनाको खोजी गरेर वास्तविकतामा बदल्ने काम अहिलेको ठूलो चुनौती हो । गाउँपालिका र नगरपालिका अहिले पनि भावनात्मक रुपमा एकताबद्ध भइसकेका छैनन् । अहिले गाउँ, गाविस, वडा भन्ने प्रचलन केही बर्षसम्म  कायमै रहन्छ । त्यसलाई भावनात्मक रुपमा कसरी केन्द्रीत गर्ने ? एउटै परिवार हो भन्ने कसरी बनाउने भन्नेमा राजनीतिक दलहरुले स्थानीय रुपमा एक रुपता ल्याउनु पर्छ ।

यि हुन स्थानीय तहका चुनौती

भौगोलिक रुपमा विभिन्न गाविसलाई जोडेर गाउँपालिकाको विकास भएको छ । नगरपालिकाको आधारभूत मापदण्ड पनि नभइन नगरपालिका बनाइएको छ  । सडक, ढल निकास, खानेपानी, विद्यालय लगायतका आधारभूत विकास निर्माण समेत नागरपालिकाभित्र हुन सकेको छैन् । नगरपलिकालाई नै भौगोलिक रुपमा चुनौती छ । गाउँपालिकाको दृष्टिकोणमा नगरपालिका केही सम्पन्न मानिन्छ । गाउँपालिका र नगरपालिकाबीच देखिएको दुरीलाई कसरी समान विकासको अवसर दिने भन्नेमा ध्यान दिनुपर्छ । रामेछापको सबैजसो गाउँपालिकाहरु विविधता र सामाजिक मनोविज्ञान रहेको छ । विभिन्न भाषाभाषि, धर्म संस्कृति रहेको गाविस मिलेर गाउँपालिका र नरपालिका बनेको छन् । सबैले समान ढंगले सबै नागरिकहरुलाई हाम्रो गाउँपालिका र नगरपालिका हो  भन्ने बोध गराउनु पर्ने आवश्यकता छ । रामेछाप जिल्लाको आधाजसो भू–भाग सुख्खाग्रस्त क्षेत्रको रुपमा रहेको छ । खानेपानीको अभाव छ । साधन स्रोतबाट कसरी सम्पन्न बनाउने ? आर्थिक रुपमा कसरी अगाडि बढाउने ? आर्थिक सामाजिक पक्षमा कसरी परिवर्तन ल्याउने  चुनौती छ ।

जलविद्युतमा रामेछापको राम्रो सम्भावना

रामेछाप जिल्लामा लिखु खोला, खिम्ती खोला, चौरी खोला लगायतका खोला रहेका छन् । तामाकोसी र सुनकोसी नदीले रामेछाप जिल्ला घेरिएको छ । यो रामेछापको सम्पत्ति हो । जसमा जलविद्युतको राम्रो सम्भावना छ । यसबाट कसरी फाइदा लिने भन्नेमा अब सबैले ध्यान दिने बेला आएको छ । योजना बनाएर अगाडि बढनु पर्ने आवश्यकता छ । रामेछापको विकासको बलियो आधार भनेको जलविद्युत आयोजना अगाडि बढाउनु नै हो । सैलुङजस्तो प्राकृतिक  सम्पदा पनि रामेछापमा नै छ ।  जहाँ पर्यटनदेखि जडिबुटी उत्पादनको काम अगाडि बढाउन सकिन्छ ।

सनुकोसी–३ जलविद्युत आयोजना अगाडि बढाउनु पर्छ
रामेछापलाई समृद्धि बनाउन र देशका विकासको लागि सुनकोसी–३ जनलविद्युत आयोजना अगाडि बढाउनु पर्छ । रामेछाप र काभ्रेसको सीमाना सुनकोसीस्थित दोभनटार र तिमालको बीचमा रहेको सुनकोसी–३ आयोजना जतिसक्दो अगाडि बढाउन सबैले पहल गर्नुपर्छ । यसले रामेछापलाई सुनको थालमा परिणत गर्नेछ । रामेछापका जनता घर घरमा करोडौंको मालिक बन्नेछन्। यसलाई तत्काल लागू गर्न माओवादीले पहल गर्नेछ। यस मामलामा सबै दल एक जुट हुनु पर्दछ।

माओवादीको नेतृत्वमा रामेछापमा विकास निर्माण

पञ्चायतको नाममा गठिएको रामेछाप जिल्लामा पछिल्लो समयमा विकास निर्माणले गति लिएको छ । राजधानी काठमाडौंलाई विकास निर्माणले नजिक बनाएको छ । रामेछापबाट २ पटक दुई नम्बर क्षेत्र र एक पटक एक नम्बर क्षेत्रको निर्वाचनमा माओवादीले विजयी हासिल गरेको थियो । यो बीचमा रामेछापको विकास निर्माणमा निकै ठूलो गति लिएको छ ।  खुर्कोट पुल निर्माण भएर सञ्चलनमा आएको छ । सित्खाको पुल सञ्चालनमा आएको छ । खैरेनीघाटमा पुल निर्माण भइरहेको छ । लिखु खिम्तीजस्ता नयाँ जलविद्युत आयोजना निर्माणको चरणमा छन् । सुनकोसी नदीमा विद्युत उत्पादनको प्रारम्भिक काम अगाडि बढेको छ । सडक कालोपत्रेको काम सुरु भएको छ । काठमाडौंबाट हेर्दा चरिकोट हुँदै रामेछाप भन्ने पहिचान थियो तर अहिले पूरै परिवर्तन भएको छ । माओवादीबाट जितेर गएका जनप्रतिनिधिहरुले निकै राम्रो काम गरेका छन् । यसको हकदार माओवादी र माओवादीका जनप्रतिनिधिहरु हुन्छन् ।

सडकको कालोपत्रे र स्तरउन्नतीलाई पहिलो प्राथमिकता

जिल्लामा अहिलेसम्म झण्डै तीस किलोमिटर मात्र सडक पिच छ । बाँकी ११ सय किलोमिटर सडक कच्ची  छन् । अब जिल्लाको पूर्व–पश्चिम र उत्तर दक्षिण जोडने मुख्य सडकलाई प्राथमिकतामा राखेर स्तरउन्नती गर्नुपर्छ । नयाँ सडक निर्माण गर्नतिर भन्दा पनि भएका सडकलाई व्यवस्थित बनाउनु लाग्नु पर्छ । दिर्घकालीन रुपमा ध्यान दिनुपर्छ । सडक दुर्घटना न्युकिरण गर्नुपर्नेमा ध्यान केन्द्रति गर्नुपर्छ । सडक सञ्जाल मार्फत गाउँगाउँमा कृषकका जीवनमा सुधार ल्याउने काम गर्नुपर्छ ।

बत्तिमुनिको रामेछापलाई उज्यालो बनाउनु पर्छ

रामेछाप जिल्लामा अहिले  गाउँपालिकामा मात्र होइन नगरपालिकामा समेत विद्युत सुविधा पुग्न सकेको छैन् । अहिले धेरै गाउँपालिकामा विद्युतीकरण हुन बाँकी छ । रामेछापबाट खिम्ती–ढल्केवर प्रसारण लाइनको उद्घाट भएर विद्युत प्रवाह भइरहेको छ । तर रामेछापवासी अध्याँरोमै बस्न बाँध्य छन् । रामेछापको भूमिबाट राष्ट्रिय प्रसारण लाइन विस्तार हुने तर रामेछापवासी नै विजुलीबाट बञ्चित हुनुपर्ने यो कस्तो विडम्बना ? जिल्लामा विद्युतीकरणको काममा अगाडि बढेको प्रक्रिया तीब्र गतिमा समयमा नै सम्पन्न गराउनु पर्छ ।

रामेछापमा उद्योग स्थापना गर्न प्रोत्साहन गर्नुपर्छ

रामेछापमा युवा शसक्तिकरणको काम अगाडि बढाउनु पर्छ । गाउँघरमा नै रोजगारी सृजना गर्ने गरी उद्योगधन्दा कलकारखाना निर्माणमा ध्यान दिनुपर्छ । धेरै ठूलो युवा जनशक्तिलाई गाउँघरमा ल्याउने वातावरण सृजना गर्नुपर्छ । विदेशमा रहेका युवाहरुलाई आफ्नो गाउँघरमै फर्काएर स्वदेशमा काम गर्ने अवस्था कसरी बनाउने भन्नेमा ध्यान दिनुपर्छ । यसो गर्न सकियो भने रामेछापको भविष्य राम्रो छ ।

रामेछापले नेता जन्मायो प्रतिफल पाउन सकने

जति नेता रामेछापले जन्मायो त्यसको प्रतिफल रामेछाप जिल्लाले पाउन सकेको छैन् । कसैलाई मन्त्री बनायो । आफै जन्मिदै मन्त्री भएकोजस्तो गरी ठूलो भएर काम गर्न सकेनन् । पछिल्लो चरणमा यो परम्परा  तोडिएको छ । माओवादीको एजेण्डा पार्टीकै नेतृत्वको सरकारले संविधान अनुसार स्थानीय तह कार्यान्वयन ल्याएको छ ।

रामेछापमा माओवादी पहिलो हो, कांग्रेस एमाले दोस्रो हुने प्रतिस्पर्धामा

दोस्रो संविधानसभा निर्वाचनमा रामेछापमा सबै भन्दा ठूलो दल  माओवादी हो । रामेछाप माओवादीका ठूलो जनआधार भएको जिल्ला हो । एजेण्डा, शक्ति र संगठनको उपस्थितिले पनि रामेछापमा माओवादीको राम्रो उपस्थिति छ । यो चुनावमा रामेछापका गाउँपालिका र नगरपालिकामा माओवादीले जित्ने गरी पार्टीले तयारी गरिरहेको छ । अरु पार्टीलाई जनताले चिनिसकेका छन् । माओवादीको पार्टीको विजय हुने सम्भावना बलियो छ । १८ बर्षसम्म स्थानीय तहको निर्वाचन गर्न नसकेर कांग्रेस र एमाले त असफल भएका हुन् नि ।

स्थानीय तहको निर्वाचन गर्न त प्रचण्ड नै चाहियो नि ? कांग्रेस,एमाले र  राजाले गर्छु भनेर असफल भएको निर्वाचन माओवादीको नेतृत्वमा निर्वाचन हुन गएको छ । रामेछापको विकास निर्माणमा माओवादीले राम्रो भूमिका निर्वाह गरेको छ । त्यसको हिसाबकिताब जनताले गरेका छन् । रामेछापमा जनताले पत्याएका चिनेका नेताहरु छन् । जनताको लागि काम गरेका छन् । अरु पार्टीसँग तुलना गर्न नसकिने स्थापित नेताहरु रामेछापमा छन् । रामेछापमा माओवादी पहिलो दल थियो । अहिले पनि पहिलो दल रहन्छ । माओवादी पहिलो पार्टी बन्छ । दोस्रो हुनको लागि एमाले र कांग्रेसका प्रतिस्पर्धा हो ।

नयाँ नेपाल बनाउने अभियान

स्थानीय तहको निर्वाचन राजनीतिक नक्सा बदल्ने अभियान हो । संविधान कार्यान्वयन गर्ने काम सुरु भएको छ । अब नेपालको राज्य पुरानो राज्य होइन । कांग्रेस एमाले र राजाले शासन  गरेको जस्तो नेपाल होइन । नयाँ नेपाल हो । अब स्कुल सञ्चालन गर्न, वनको सानो काम गर्न सिंहदरवार धाउनु पदैन । अब जनताले आफ्नो गाउँमै बसेर सबै अधिकार पाउने छन् । जनताले आफैले निर्णय गर्न सक्छन् । संसदमा यस्तो शक्तिशाली स्थानीय तह कहीं पनि छैन् । संसारको कतिपय देश म आफैले पनि हेरेको छु । निर्वाचनले नेपाललाई दिर्घकालीन विसकाको रुपमा अगाडि बढाउछ ।

नेपाल बुझेको आफ्नो ठाउँलाई चिनेकालाई उम्मेदवार

उम्मेदवार छनोट गर्न पार्टीले कार्यविधि नै बनाएको छ । स्थानीय तहले आफ्नो निर्णय आफै गरेर सिफारिस गर्ने भएकाले केन्द्रले हस्तक्षप नगर्दा नै राम्रो हुन्छ । रानजीतिक रुपमा योगदान गरेको समाजमा स्थापित भएका व्यक्तिहरुलाई उम्मेदवार बनाउनु पर्छ । गाउँपालिका र नगरपालिका बनाउने भिजन दिन सक्ने,सिंगो नेपाललाई बुझेको व्यक्तिलाई उम्मेदवार बनाउनु पर्छ । सकेसम्म युवाहरु अगाडि बढाउनु पर्छ । पार्टीले संविधानमा व्यवस्था गरेको भन्दा अत्याधिक रुपमा समोवशीता अपनाउनु पर्छ । पिछडिएको समुदायलाई बढी दिनुपर्छ । मुख्य रुपमा इतिहास र कार्यदक्षता भएको मुल्याङनको आधारमा टिकट दिनुपर्छ । माओवादी अनुशासित र संगठित पार्टी हो । पार्टीको आन्तरिक बैठकमा मत राख्ने र निर्णय भएपछि एकताबद्ध भएर कार्यान्वयनमा जाने पार्टी हो ।

राज्यलाई ठगेको पैसाले चुनाव लडन नआउनुहोस, उद्योग खोल्नुहोस

रामेछापमा पुरानै मानसिकता अनुसार भ्रष्टाचार गरेको पैसाले भोट किनौला र चुनाव  जितौला भनेर कसैले कल्पना नगरे हुन्छ । राज्यलाई ठगेर भ्रष्टचार गरेको पैसाको फुर्ती कसैले पनि नलगाए हुन्छ । राज्यलाई ठगेर छ महिनामा दुवो उम्रिने गरी पिच भएको सडक, तीन महिनामा भत्किने गरी  निर्माण गरेको पुलबाट आउको पैसाले जनतालाई किन्छु र जित्छु भन्ने सपना नदेखे हुन्छ । पैसावालाले त्यो सपना नदेखे हुन्छ । वरु त्यो पैसाले सानातिना उद्योग खोल्दा नै भलाई हुन्छ । देशको पनि हित हुन्छ । विगतका दिनहरुमा माओवादी सरकारमा नभएको बेलामा जनताको आवाज बोल्ने माओवादीप्रति अनुदार दृष्टिकोण  अहिलेसम्म प्रशासनमा देखिन्छ । प्रशासन संयन्त्रको सही ढंगले परिचालन हुनुपर्छ । यताउता गर्छु भन्ने सोच नराखे हुन्छ ।  माओवादी  पनि अनुभवी भएर छिप्पीएको छ ।

 

प्रतिक्रिया दिनुहोस्