रामेछापको सुनापति गाउँपालिकामा जित्ने माओवादीको दावी



१९ चैत्र, काठमाडौं ।
नेकपा माओवादीका नेता गिरिराजमणि पोखरेलले स्थानीय तहको निर्वाचनमा माओवादीको जित सुनिश्चित भएको बताए । उनले संघीयता माओवादीको नीति भएको बताउदै चुनाव पनि माओवादीले जित्ने दावी बताएका हुन् । ‘चुनाव जसरी पनि जित्नको लागि पार्टीभित्र एकताबद्ध भएर लाग्नु पर्छ’,उनले भने,‘पार्टीको नीति कार्यान्वयन गर्न प्रतिबद्ध भएर लाग्नु पर्छ ।’

नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज धावा लामाले निर्वाचनमा धेरै आंकाक्षी भएपनि पार्टीको नीति र विधि अनुसार उम्मेदवार छनोट हुने बताए । ‘पार्टी नीति ठूलो कुरा हो, व्यक्ति ठूलो कुरा होइन, पार्टीभित्र टिकट नपाउदा त्यसलाई विवादको विषय नबनाऔ’,उनले भने,‘एकताबद्ध भएर लाग्ने हो भने रामेछापको ६ गाउँपालिका र २ गरपालिकामा माओवादीको जित सुनिश्चित छ ।’

नेकपा माओवादीका युवा नेता एवं विदेश विभाग सचिवले रामेछाप जिल्लाले पार्टीको इतिहासमा ठूलो भूमिका निर्वाह गरेको बताउदै आगामी निर्वाचनमा पनि जित सुनिश्चित भएको बताए । उनले भने,‘गणतन्त्र र संघीयता ल्याउन रामेछापले निकै ठूलो योगदान गरेको छ ।’
कार्यक्रममा माओवादीका नेता रेशम चौलागाईले पार्टीले उम्मदेवार छनोट गर्दा सबैलाई मान्य हुने गरी उम्मेदवार छनोट गर्न आग्रह गरे । उनले भने,‘आग्रह र पूर्वाग्रह राखेर होइन पार्टीको राजनीतिमा योगदान गरेको इमान्दार र सक्षम व्यक्ति छनोट गर्नुपर्छ ।’
सनापति गाउँपालिका काठमाडौं सम्पर्क मञ्चद्धारा शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई नेता एवं रामेछापका पूर्व सभासद डिल्लीमान तामाङ, पेमा लामा, रामकुमार लामा, भुवन घिमिरे, अम्बर लामा, ठूलोकान्छा तामाङ,ज्ञानकुमार योञ्जन लगायतले सम्बोधन गरेका थिए । सुनापति गाउँपालिकामा माओवादीबाट उम्मेदवार बन्नेहरुको चर्चा पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्