रामेछापमा चुनावी सभा गर्न प्रशासनलाई ४८ घण्टा अगाडि नै जानकारी गराउनु पर्ने



२० चैत्र, रामेछाप ।
रामेछाप जिल्लामा राजनीतिक दलहरुले चुनावी कार्यक्रम सञ्चालन गर्नु अघि ४८ घण्टा अघि नै जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने भएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा आचारसंहितालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले बोलाएको सर्वदलिय बैठकमा यस्तो सहमति भएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार कुनै पनि राजनीतिक दलहरुले सभा सम्मेलन र बैठक गर्नु ४८ घण्टा अघि नै जानकारी गराउन आग्रह गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘निर्वाचनको कार्यक्रम सार्वजनिक स्थलमा हुन्छ, सुरक्षाको दृष्टिकोणले पनि ४८ घण्टा अगाडि जानकारी गराउनु पर्छ, सोही कार्यतालिका अनुसार प्रशासनले सुरक्षा प्रदान गर्छ ।’
सर्वदलिय बैठकमा हाल जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका कामलाई निरन्तरता दिने, नयाँ विकासका कार्यक्रम सञ्चालन गर्न नपाइने, कृषि, पुश तथा स्वास्थ्य कार्यलयले सञ्चालन गर्ने शिविरमा राजनीतिक दलहरु सहभागी हुन पाउने भएपनि मञ्चमा वक्ताको रुपमा बोलाउन नपाइने सहमति भएको छ । प्रजिअ खत्रीले बैठकमा सार्वजनिक सवारी साधनमा पार्टीहरुले झण्डा नराख्ने, कार्यक्रम गर्दा बाहिरबाट मानिसहरु ल्याएर शक्ति प्रदर्शन नगर्ने सहमति भएको बताए ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा कुनै पनि राजनीतिक दलहरुले आमसभा भेला सम्मेलन बैठक गर्ने कार्यतालिका प्रशासनलाई ४८ घण्टा अघि नै स्वीकृत गराउनु पर्ने उल्लेख गरिएको छ । प्रजिअ खत्रीले भने,‘आचारसंहिता उल्लंघन गर्नेलाई प्रशासनले कडा कारवाही गर्छ, आचारसंहिता पालना भए नभएको अनुगमन हामीले गरेका छौं ।’
सर्वदलिय बैठकमा प्रजिअ खत्री, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमोद ढुंगेल, जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख कपिलप्रसाद उपाध्यय, नेपाली कांगे्रसका कोषाध्यक्ष कुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष शान्ति पौडेल,नेकपा माओवादीका नेता एवं पूर्व सभासद नारानारायण श्रेष्ठ लगायतका विभिन्न राजनीति दलहरुको सहभागीता रहेको थियो । रामेछापमा स्थानी तहको निर्वाचनको लागि १७ वटा राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्