रामेछापको ६ गाउँपालिकामा कार्यकारी अधिकृत जादै को–कहाँ ?



२१ चैत्र, रामेछाप ।

स्थानीय तह कार्यान्वयनमा आएसँगै रामेछापको ६ गाउँपालिकामा भोलीबाट कार्यकारी अधिकृतहरुले  गाउँपालिकाको जिम्मेवारी  सम्हाल्ने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यस अघि नै कार्यकारी अघिकृतको रुपमा खटाए पनि भोलीबाट गाउँपालिका पुग्ने भएका हुन् ।

गाउँपालिकामा सुरुको चरणमा कार्यकारी अधिकृत र लेखापाल मात्र खटिने भएका छन् । गाउँपालिमा नौ जना कर्मचारी हुनुपर्ने भएपनि सुरुमा कार्यकारी अधिकृत र लेखापाल मात्र जान लागेका हुन् । साबिकको गाविसको कार्यालयलाई नै गाउँपालिको कार्यालयको रुपमा प्रयोग गर्ने गरी व्यवस्थापनको तयारी गरिएको छ । जिल्ला समन्वय समिति रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले गाउँपालिकाको कार्यकारी अधिकृत र वडा सचिवलाई आ–आफ्नो कार्यक्षेत्र जान निर्देशन दिएका छन् ।

स्थानीय विकास अधिकारी पन्तले रामेछाप न्युजसँग भने,‘६ वटा गाउँपालिमा कार्यकारी अधिकृत खटाइएको छ, जिल्लाको ६४ वटा वडामा पनि सचिवलाई खटाइएको छ ।’ नागरिकलाई सहज र सरल ढंगबाट सेवा प्रदान गर्न गाउँपालिकामा कर्मचारी खटिएको उनले बताए । गाउँपालिकामा कसरी काम गर्ने भन्ने बारेमा कार्यकारी अधिकृत र वडा सचिवहरुसँग छलफल भएको बताउदै पन्तले भोलीबाट ६ गाउँपालिकामा कार्यकारी अधिकृत खटिने बताए ।

स्थानीय विकास मन्त्रालयले ६ गाउँपालिको लागि लेखापाल पनि खटाइसकेको छ । उमाकुण्ड गाउँपालिकामा दिलिप कुमार माझी, गोगुलगंगा गाउँपालिकामा जीवमणी देवकोटा, खाँडादेवी गाउँपालिमा भिमलाल तामाङ, लिखु गाउँपालिमा प्रमोद घिमिरे र सुनापति गाउँपालिमा बमबहादुर बिक रहेका छन् ।
मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा यस अघि रहेका कार्यकारी अधिकृतलाई नै निरन्तरता दिइएको छ । रामेछाप नगरपालिको कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा छन भने रामेछाप नगरपालिका कार्यकारी अधिकृत गणेश नेपाली रहेका छन् ।

यसैबीच प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गाउँपालिका र वडा कार्यलयमा तत्काल जान निर्देशन दिएको बताएका छन् । उनले रामेछाप न्युजसँग भने,‘तोकिएको कार्यक्रमा गएर काम गर्न गाउँपालिका र नगरपालिका कार्यकारी अधिकृतलाई निर्देशन दिएको छु ।’

यि हुन ६  गाउँपालिका ६ कार्यकारी अधिकृत

१.उमाकुण्ड गाउँपालिका–गंगा काफ्ले
२. गोगुलगंगा गाउँपालिका–भानुभक्त भट्ट
३. लिखु गाउँपालिका–टार्जन कुमार लिम्बु
४. दोरम्बा गाउँपालिका–विकास शर्मा रिजाल
५.खाँडादेवी गाउँपालिका–दिपेश कटेल
६.सुनापति गाउँपालिमा विमला रेग्मी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्