रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा माओवादीको उम्मेदवार को–को ?



२३ चैत्र, रामेछाप ।
रामेछाप जिल्लामा नेकपा माओवादी केन्द्रले चुनावी अभियानलाई तिब्रता दिएको छ । माओवादीले नगरपालिका, गाउँपालिका र वडाको भेलासँगै चुनावी अभियानलाई अगाडि बढाएको छ । भेलासँगै केही वडामा उम्मेदवार छनोटको काम समेत माओवादीले सुरु गरेको छ ।

नेताहरु चुनावी अभियानसँगै उम्मेदवार बन्ने दौडमा पनि लागेका छन् । माओवादीले पहिलो संविधानसभा निर्वाचनमा रामेछापको दुवै निर्वाचनमा जितेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा पनि रामेछाप २ नम्बर क्षेत्रबाट माओवादीका सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ बिजयी भएका थिए ।क्षेत्र नम्बर १ मा थोरै मतअन्र्तरले लक्ष्मी गुरुङ पराजित भएकी थिइन ।


दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले अधिकाशं जिल्लाहरुमा पराजय भोगे पनि रामेछापबाट भने जित हासिल गरेको थियो । माओवादीले रामेछापलाई आफ्नो आधार इलाकाको रुपमा परिषाति गर्दै आएको छ । जनयुद्धको क्रममा रामेछाप जिल्लाबाट मात्र १ सय १८ जना शहीद भएका थिए । रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरापालिकामा विजयी हुनको हुने दावी गरेको छ ।
संगठन सदृढीकरण, पार्टीको प्रशिक्षणदेखि चुनावी अभियान थालेको माओवादीले उम्मेदवार छनोटको लागि जनमत पनि संकलन गरिरहेको छ । माओवादीले चुनावी अभियानसँगै वडा, गाउँपालिका र नगरपालिको मेयरमा कसलाई अउठाउने भन्ने अभियान पनि एकसाथ अगाडि बढाएको छ ।

माओवादीले दोस्रो संविधानजस्तै स्थानीय तहको निर्वाचनमा पनि रामेछापमा आफने साख जोगाउने दावी गरेको छ । यसैबीच गाउँपालिकाको प्रमुख र दुई नगरपालिका मेयरको चर्चा पनि सुरु भएको छ । रामेछापको ६ गाउँपलिका र २ नगरपालिकामा क कसको चर्चा भन्ने विषयमा रामेछाप न्युजले तयारी गरेको रिपोर्ट यस्तो छः–

खाडाँदेवी गाउँपालिकामा को–को ?
माओवादी केन्द्रले गाउँपालिकामा जनताको माझमा भिजेको नेतालाई उम्मेदवार बनाउने नीति लिएको छ । खाँडादेवी गाउँपालिमा शिवकुमार कार्की, अन्जान लामा र मानबहादुर तामाङको चर्चा भएपनि शिवकुमार कार्कीले नै टिकट पाउने सम्भावना बलियो रहेको छ ।

सुनापति गाउँपालिकामा को–को ?
सुनापति गाउँपालिमा माओवादीका धेरै नेताहरु आकांक्षी देखिएका छन् । जिल्ला तहमा सुनापति गाउँपालिकामा नेताको संख्या धेरै भएकाले धेरै आकांक्षी देखिएका हुन् । सुनापति गाउँपालिकामा पेमा लामा, रामकुमार लामा, ज्ञानकुमार योञ्जन, ठूलोकान्छा तामाङ, सुमन लामा,खड्क घिसिङको चर्चा रहेको छ । सबै उम्मेदवारका आकांक्षीबीच कसले पाउने भन्ने प्रतिस्पर्धा छ ।

दोरम्बा गाउँपालिकामा को–को ?
दोरम्बा गाउँपालिमा पनि माओवादीले चुनावी अभियान तीब्र बनाएको छ । माओवादीले वडा भेलादेखि टोलटोलमा चुनावी अभियान अगाडि बढाएको छ । दोरम्बा गाउँपालिका जनयुद्धको समयमा राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत परिचत ठाउँ हो । दोरम्बा गाउँपालिबाट यशु चौलागाई, कमानसिंह मोक्तान, सुनिता गौतम, हिराबहादुर श्रेष्ठको नाम चर्चामा रहेको छ ।

मन्थली नगरपालिकाको मेयरमा श्रेष्ठको चर्चा
मन्थली नगरपालिकामा माओवादीबाट उम्मेदवारको आकांक्षी धेरै भएपनि पार्टीले तारानारायण श्रेष्ठलाई नै मेयरमा उठाउने तयारी गरेको छ । पूर्व सभासद समेत रहेका श्रेष्ठ मन्थली नगरपालिकाको इन्चार्जको रुपमा काम गर्दै आएका छन् । पहिलो संविधानसभा भंग भएपछि जिल्लामा रहेर काम गर्दै आएका श्रेष्ठ जनतासँग घुलमिल गर्ने र विकास निर्माणको काममा समेत अगुवाई गर्दै आएका छन् । माओवादीका एक नेताले भने,‘श्रेष्ठ नै मेयरको उम्मेदवार बनाउने भएपनि अरु साथीहरुले दावी गरेका छैनन् ।’

रामेछाप नगरपालिकामा को–को ?
रामेछाप नगरपालिकामा पनि माओवादीले चुनावी अभियानलाई तिब्रता दिएको छ । रामेछाप नगरापलिकाको मेयरको उम्मेदवार बन्नको लागि नरेशबहादुर श्रेष्ठ, शिशिर खडकी र रत्न नेवारको नाम चर्चामा रहेको छ ।

लिखु गाउँपालिमा को–को ?
लिखु गाउँपालिकामा पनि माओवादीबाट कसले गाउँपालिको प्रमुखको टिकट पाउने भन्ने बहस सुरु भएको छ । लिखु गाउँपालिकामा रविन्द्र पौडेल, धु्रब कार्की,श्यामनारायण श्रेष्ठ र दलबहादुर सार्कीको नाम चर्चामा रहेको छ ।

उमाकुण्ड गाउँपालिकामा को–को ?
उमाकुण्ड गाउँपालिकामा पनि माओवादीबाट कसले टिकट पाउने लविङ सुरु भएको छ । उमाकुण्ड गाउँपालिबाट रिता रसाइली, मदन कालिकोटे र नाम्गेल शेर्पाको चर्चा रहेको छ । उमाकुण्ड गाउँपालिकामा पनि माओवादीले चुनावी अभियानलाई जारी राखेको छ ।

गोकुलगंगा गाउँपालिकामा कार्कीको चर्चा
गोकुलगंगा गाउँपालिमा प्रेम कुमार कार्कीलाई टिकट दिने तयारी माओवादीले गरेको छ । जिल्लामा स्थापित नेता भएकाले अन्य नेताहरुलाई अगाडि सार्नु भन्दा कार्कीलाई नै टिकट दिने तयारी पार्टीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्