६ गाउँपालिका र २ नगरपालिकाका कार्यकारी अधिकृत नै समन्वयकर्ता



२६ चैत्र, रामेछाप ।
स्थानीय तहको निर्वाचनको लागि खटिएका मतदाता शिक्षा कार्याकर्ता र मतदाता शिक्षा स्वयमेवक परिचालन गर्न जिल्ला निर्वाचन कार्यालय रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिका कार्यकारी अधिकृतलाई तालिम प्रदान गरेको छ ।

६ गाउँपालिका र २ नगरपालिकाका कार्यकारी अधिकृतलाई नै निर्वाचन आयोगले मतदाता शिक्षा स्थानीय समन्वयकर्ताको रुपमा परिचालन गर्न तालिम प्रदान गरेको हो । वडामा भने वडा सचिवको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको छ ।

जिल्ला निर्वाचन आयोगका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले कार्यकारी अधिकृतहरुले मतदाता शिक्षाको लागि सहजीकरणको साथै अनुगमन समेत गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘जिल्लाको १ सय ७५ वटा मतदान केन्द्रमा नै मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयसेवक खटिएका छौं, कार्यकारी अधिकृत र वडा सचिवहरुले समन्वय गर्ने छन् ।’ रामेछाप जिल्लामा ६ गाउँपालिका र २ नगरपालिकामा गरी ६४ वटा वडाहरु रहेका छन् ।

तालिममा मन्थली नगरपालिका कार्यकारी अधिकृत, पुरुषोत्तम सापकोटा, रामेछाप नगरपालिका कार्यकारी अधिकृत, गणेश नेपाली, सुनापति गाउँपालिका कार्यकारी अधिकृत,बिमला रेग्मी, खाडाँदेवी गाउँपालिकाको कार्यकारी अधिकृत दुर्गा कुमारी दाहाल, उमाकुण्ड गाउँपालिका कार्यकारी अधिकृत गंगा काफ्ले, गोकुलगंगा गाउँपालिका कार्यकारी अधिकृत प्रदीप कुमार खड्का, लिखु गाउँपालिका कार्यकारी अधिकृत, टार्जन कुमार लिम्बु र दोरम्बा गाउँपालिका कार्यकारी अधिकृत सुमन भट्टराईको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्