लगानीकर्तालाई जलविद्युतमा क्षेत्रमा लगानी गर्न मन्त्री शर्माको आग्रह



२६ चैत्र, काठमाडौं ।
उर्जा मन्त्री जनार्दन शर्माले लगानीकर्तालाई  नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । उनले नेपालमा उद्योग क्षेत्रमा राम्रो सम्भावना भएकाले जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।
गैर आवायीय नेपाली संघ मलेसिया (एनआरएन) र नेपाली दुतावास मलेसियाले शनिवार क्वालालम्पुरस्थित ग्राण्डकन्टिन्टल होलटमा आयोजना गरेको ‘नेपालको उर्जा क्षेत्रमा एनआरएन मलेसिया र व्यवसायीहरुको लगानी सम्भावना’ विषयक अन्र्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपालमा अब विकासले गति लिने बताए । आफू मन्त्री भएपछि नेपाललाई अन्धकारबाट उज्यालोतर्फ अगाडि बढाएको बताउदै उनले अब नेपालले जलविद्युत आयोजनलाई अगाडि बढाएर समृद्धिको गतिमा अगाडि बढाउने विश्वास व्यक्त गरे ।

नेपालीहरुले मलेसियामा पसिना मात्र होइन, रगत पनि बनाएका छन्’, मन्त्री शर्माले भने,‘नेपालमा बैदेशिक लगानीका प्रशस्त सम्भावना छ, जलविद्युत क्षेत्रमा झन धेरै सम्भावना छ ।’ नेपालमा सन् २०४० मा ६६ हजार मेगावाट बिजुली चाहिन्छ, नेपालमा अहिले १५ सय मेगावाट मात्र छ, उनले भने ।

मन्त्री शर्माले मलेसिया सरकारलाई ढुक्क भएर नेपालको विद्युत क्षेत्र लगायतका अन्य उद्योग क्षेत्रमा लगानी गर्न आग्रह गर्दै नेपाल स्वागत गर्न तयार रहेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं विदेश विभाग सचिव युवराज चौलागाईले नेपालमा उद्योग क्षेत्रमा लगानी गर्ने वातावरण सहज भएको बताए । उनले नेपाल प्राकृतिक स्र्रोत र साधनले सम्पन्न रहेको बताउदै मलेसिया सरकारलाई नेपालको उद्योग क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

माओवादी केन्द्र निकट अन्तर्राष्ट्रिय विभाग नेपाली जनप्रगतिशिल मञ्चको ७ औं अधिवेशनको उदघाटन गर्नको लागि शनिवार मन्त्री शर्मा सहित माओवादीका पोलिटब्यूरो सदस्य एवं विदेश विभाग सचिव युवराज चौलागाई, वाइसियलका संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा लगायतको टोली मलेसिया प्रस्थान गरेको थियो ।

मन्त्री शर्मासहितको टोलीलाई मलेसियास्थित नेपाली राजदुत निरञ्जनमान सिंह बस्नेत, नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, एनआरएन मलेसियाका अध्यक्ष विश्व राई मलेसियास्थिति विभिन्न संघ संस्थाले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्