तीन जलविद्युत आयोजनामा सबै रामेछावासीलाई शेयरः उर्जा मन्त्री शर्मा



२ वैशाख, रामेछाप ।
उर्जा मन्त्री जनार्दन शर्माले रामेछापमा सञ्चालन हुने तीन जलविद्युत आयोजनामा सबै रामेछावासीलाई शेयर पाउने व्यवस्था मिलाउने बताएका छन् । उनले रामेछापवासीको जीवनस्तर उकास्नको लागि जिल्लामा सञ्चालन हुने जलविद्युत आयोजना रामेछापका २ नगरपालिका र ६ गाउँपालिकावासीलाई शेयर हाल्ने व्यवस्था गर्ने बताएका हुन् ।

गोकुलगंगा गाउँपालिकाद्धारा रामेछापको बेतालीमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा मन्त्री शर्माले रामेछापको २९ वटा वडाको विद्युतीकरण गर्नको लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेर ग्लोबल टेन्डर भएको बताए । उनले भने,‘अब रामेछापको सबै क्षेत्रमा विजुली बल्छ,लोयर लिखु, ठोसे, खम्ती–२ जलविद्युत आयोजनामा सबै रामेछापवासीले शेयर हाल्न पाउने व्यवस्था मिलाउछौं ।’ मन्त्री शर्माले सुनकोसी– ३ जलविद्युत आयोजना अगाडि बढाउने तयारी सरकारले गरेको बताउदै जलविद्युत आयोजना मार्फत रामेछापवासीको जीवनमा आमूल परिवर्तन आउने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज धावा लामाले रामेछापमा माओवादी पार्टीको जित सुनिश्चित रहेको बताए । त्यसैगरी नेकपा माओवादीका युवा नेता एवं रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ले २०६४ सालको संविधानसभा निर्वाचनपछि रामेछाप जिल्लाको विकास निर्माणको नेतृत्व माओवादीले गरेको बताए । उनले भने,‘मैले रामेछाप क्षेत्र नम्बर २ बाट विजयी भएपनि क्षेत्र नम्बर १ को विकासमा समान ढंगले चासो दिएको छु ।’ रामेछाप माओवादीको जनआधार भएको जिल्ला भएको बताउदै सांसद श्रेष्ठ आगामी निर्वाचनमा पनि पार्टीको जित सुनिश्चित रहेको बताए ।
उक्त कार्यक्रममा माओवादीको नेतृ एवं पूर्व सभासद लक्ष्मी गुरुङले सिंहदरवारको अधिकार माओवादीकै नेतृत्वमा गाउँगाउँमा आइपुगेको बताइन । उनले भनिन,‘जनतालाई अधिकार सम्पन्न बनाउने पार्टी माओवादी हो, त्यसकारण यस पटक भोट पनि जनताले माओवादीलाई नै दिन्छन ।’ महिला दलित आदिवासी मजदुरको अधिकार सुनिश्चित गर्ने काम माओवादीले गरेको बताउदै गुरुङले रामेछाप जिल्लामा विकास निर्माण नेतृत्व गर्ने पार्टी पनि भएकाले पनि जित सुनिश्चित रहेको बताइएन ।
कार्यक्रममा माओवादी केन्द्र गोगुलगंगा गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेम कुमार कार्की ‘सेवक’ले गोगुलगंगा गाउँपालिकालाई नमूना गाउँ बनाउने बताए । आफूले जिते गोगुलगंगा गाउँपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउने योजना रहेको बताउदै उनले भने,‘बिजयी भएपछि कुनै पनि पार्टीलाई निषेध नगरी साझा एजेण्डा बनाएर गाउँपालिको विकासमा लाग्छु ।’

प्रतिक्रिया दिनुहोस्