रामेछापको लिखुमा १ सय ५७ मेगावाट आयोजना सञ्चालमा



२ वैशाख, काठमाडौं ।

निजी क्षेत्रको एमभी दुगड ग्रुपले १ सय ५७ मेगावाट क्षमताको लिखु जलविद्युत आयोजना निर्माण थालेको छ । निजी क्षेत्रले बनाउन लागेको यो सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । विद्युत व्यवस्थापन गरेर लोडसेडिङमुक्त भएपछि उर्जा मन्त्रालयले नीतिगत सहजता प्रदान गरेपछि निजी क्षेत्रले जलविद्युत लगानी धमाधम निर्माण सुरु गरेका छन् ।
उद्योग, व्यापार र बैंक तथा वित्तिय संस्थामा लगानी गरेको यो समूहले २१ अर्ब लगानीमा यो जलविद्युत निर्माण थालेको हो । समूहले लिखु–१, लिखु–२ र लिखु ए जलविद्युत आयोजनाको निर्माण थालेको छ । यो आयोजनाको निर्माण सकेर सन् २०२०को जुलाईभित्र राष्ट्रिय प्रशारणलाइनमा जोड्ने समूहले जनाएको छ।

पान हिमालय इनर्जीले लिखु–१, ग्लोबल हाइड्रोपावर एसोसिएटले लिखु–२, र नुम्बुर हिमालय हाइड्रोपावरले लिखु ‘ए’ जलविद्युत परियोजना निर्माण गर्नेछन् । यी तीनवटै परियोजनाबाट उत्पादित बिजुली खरिद–बिक्रीका नेपाल विद्यत प्राधिकरणसँग सम्झौता भइसकेको छ । परियोजनाका निर्माणका लागि आवश्यक वित्तीय स्रोतका लागि विभिन्न वाणिज्य बैंकहरुसँग ऋण सम्झौता समेत भइसकेकोले समूहले बताएको छ ।

समुहका अध्यक्ष मोतीलाल दुगडका अनुसार ७७ मेगावाटको लिखु– १ मा प्राइम कमर्सियल बैंकको अगुवाइमा एनआइसी एसिया बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, जनता बैंक, प्रभु बैंक र मेगा बैंकले कर्जा लगानी सम्झौता गरेका छन् ।

त्यसैगरी ५१ मेगावाटको लिखु– २ मा माछापुच्छ्रे बैंकको अगुवाइमा मेगा बैंक, नेपाल एसबीआई बैंक, नेपाल बङ्गलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको ऋण लगानी रहेको छ । २९ मेगावाटको लिखु ‘ए’ मा लक्ष्मी बैंकको अगुवाइमा सिद्धार्थ बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाण्डु लुम्बिनी बैंकले संयुक्त लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्