विदेशी मिडियालाई बोलाएर उत्तर कोरियाले गर्यो शक्ति प्रदर्शन



वैशाख २, एजेन्सी ।

कुनैपनि प्रकारको परमाणु आक्रमणको प्रतिबाद गर्न आफ्नो देश तयार रहेको उत्तर कोरियाले बताएको छ । अमेरिका प्रतिलक्षित गर्दै उत्तर कोरियाली अधिकारीले जथाभावी रासायनिक आक्रमण नगर्न चेतावनीसमेत दिएका छन् ।

हामी हरेक आक्रमणको सामना गर्न पूर्ण तयारी अवस्थामा छौँ, आक्रमण गर्नेका विरुद्ध आफ्नै तरिकाले जवाफी आक्रमण गर्न पनि हामी सक्षम छौँ, एक जना सैन्य उच्च अधिकारी चोइ र्योङ हाइले भने।

आफ्ना संस्थापक नेता किम इल सङको १०५ औँ जन्मदिनको अवसरमा देशको सैन्य सामथ्र्य प्रस्तुत गर्नु अगाडि शनिबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । शहरको केन्द्रमा रहेको किम इल सङ स्क्वायरमा सैनिकहरुले कवाज र मार्च पास प्रदर्शन गरेका थिए ।

उत्तर कोरियाको सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढ्दै गएको भन्ने चिन्ताका माझ शनिबारको प्रदर्शनीलाई आफ्नो सैनिक सामथ्र्य बाहिरी विश्वसामू प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरिएको देखिन्छ ।


अमेरिकाले एउटा युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाएपछि अमेरिका र उत्तर कोरियाको सम्बन्धमा अहिले तनाव बढ्दै गएको छ ।उत्तर कोरियाले पनि पाँचवटा परमाणु परीक्षण गरिसकेको छ र श्रृङ्खलावद्ध रुपमा क्षेप्यास्त्रको परीक्षण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्