मन्थली नगरपालिकाको मेयरमा तारानारायण श्रेष्ठको उम्मेदवारी



३ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिकाको मेयरमा तारानारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । मन्थली नगरपालिकाको बैठकले श्रेष्ठलाई सर्वसम्मत मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो । २०६४ सालको निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट संविधानसभा निर्वाचनमा प्रत्यक्ष रुपमा विजयी भएका श्रेष्ठले निरन्तर रामेछापमा बसेर जनताको बीचमा रहेर काम गर्दे आएका छन् । पार्टीको मन्थली नगरपालिकाको इन्चार्ज समेत रहेका श्रेष्ठले मन्थली नगरपालिकाको विकास निर्माणमा सक्रिय रहदै आएका छन् ।

२०२९ साल वैशाख ५ मा मन्थली नगरपालिका–२ कठजोरमा जन्मिएका श्रेष्ठले २०४७ सालमा वामपन्थी पार्टीको सदस्यता लिएका थिए । २०५७ सालमा माओवादीको पूर्णकालिन सदस्यता लिएका श्रेष्ठ पार्टीको जिल्ला कमिटी सदस्य,जिल्ला कमिटीको सह–सचिव, राज्य कमिटी सदस्य हुँदै हाल पार्टीको महाधिवेशन आयोजक समितिको केन्द्रीय सदस्य रहेका छन् ।

उम्मेदवार श्रेष्ठले आफूलाई मेयरमा विजयी गराए मन्थली नगरपालिकाको सबै टोलटोलमा सडक पुर्याउने लक्ष्य रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘म मेयरमा बिजयी भए मन्थली नगरपालिकालाई देशभरीकै नमूना नगरपालिका बनाउछु ।’ प्रत्येक घरघरमा खानेपानीको धारा उदेश्य रहेको बताउदै श्रेष्ठले भने,‘मन्थली नगरपालिकाभित्र बिजुली बल्न बाँकी रहेका सबै क्षेत्रमा अबको तीन महिनामित्र बिजुली बल्छ ।’ पार्टीले मन्थली नगरपालिको उप–मेयरमा रितादेवी घिमिरेलाई उठाउने सर्वसम्मत निर्णय गरेको छ । मन्थली नगरपालिमा २७ हजार मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्