पहिलो पटक दमकल भित्रिएपछि रामेछापवासीमा खुसीयाली



३ वैशाख, रामेछाप ।
सुख्खाग्रस्त क्षेत्र रामेछाप जिल्लामा पहिलो पटक दमकल भित्रिएपछि रामेछापवासीमा खुसीयाली छाएको छ । आगलागीबाट हुन सक्ने जनधनको क्षति रोक्नको लागि मन्थली नगरपालिको पहलमा जिल्लामा पहिलो पटक दमकल भित्रिएको हो । मन्थली नगरपालिकाले खरिद गरेको दमकल रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिकामा प्रयोग गर्न सकिनेछ । मन्थली नगरपालिका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले भने, आवश्यकता अनुसार
जिल्लाभित्र मात्र होइन जिल्ला बाहिर पनि आपतकालिन अवस्थामा पठाउन पर्ने हुन सक्छ ।

उनले रामेछाप न्युजसँग भने,‘निकै मेहनत गरेर दमकल खरिद गरेका छौं, जनप्रतिनिधि नआउदासम्म शसस्त्र प्रहरीले सञ्चालन गर्ने निर्णय भएको छ ।’ ५९ लाख ४९ हजारमा मन्थली नगरपालिकाले खरिद गरेको दमकल दैनिक रुपमा सञ्चालन गर्न स्रोत साधनको अभाव भएपछि जिल्ला दैवी प्रकोप उद्दार समितिको निणर्य अनुसार शसस्त्र प्रहरी मार्फत सञ्चालन गर्ने निर्णय भएको छ । ४५ सय लिटर क्षमता भएको दमकल २४ सै घण्टा तयारीमा राख्ने निर्णय पनि समितिले गरेको छ ।
दमकलको लागि तीन जना फायर म्यान र एक जना ड्राइभर अनिर्वाय रुपमा आवश्यकता पर्ने बताउदै कार्यकारी अधिकृत सापकोटाले दमक सञ्चालन गर्न कम्तिमा पनि दस जना कर्मचारी आवश्यक रहेको बताए । दमकलमा पानी छ्याप्न मिल्ने गरी प्रविधि जडान गरिएको छ । मन्थली नगरपालिकामा उडने अत्याधिक धुलो निर्णयन्त्रण गर्ने उदेश्यको साथ उक्त प्रविधि जोडिएको हो ।
दैनिक रुपमा पानी छ्याप्ने कार्य भने तत्काल नहुने भएको छ ।  समितिले दीघकालीन सञ्चालन व्यवस्थापनको लागि कार्यविधि निर्माण एवं सम्बन्धित स्थानीय तहबीच समन्वय गर्ने जिम्मेवारी मन्थली नगरपालिकालाई दिएको छ । जनप्रतिनिधिको वहालीपछि उहाँहरुको निर्णय बमोजिम सञ्चालन गर्ने निर्णय पनि समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्