रामेछापमा आचारसंहिता उल्लघनका ७ उजुरी



५ वैशाख, रामेछाप ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले निर्वाचन आयोगले तोकेको आचारसंहिता उल्लघंन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी परेको छ । राजनीतिक दलका नेताहरुले भोट माग्नको लागि विकास निर्माण गरिदिने काम गरेको भन्दै जिप्रकामा मौखिक उजुरी दिएका छन् ।
निर्वाचनमा भोट आफ्नो पक्षमा पार्नको लागि व्यक्तिगत रुपमा सडक खन्नेदेखि खानेपानीको पाइप बाड्नेसम्मको उजुरी परेका छन् । रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आचारसंहिता उल्लघन गरेको भन्दै सात वटा मौखिक उजुरी परेको बताए । उनले रामेछाप न्युजसँग भने,‘आठ वटा स्थानीय तहका विभिन्न ठाउँबाट आचारसंहिता उल्लघन भएको मौखिक उजुरी परेका छ, लिखित उजुरी दिए हामी कारवाही गछौं ।’ जिल्लामा अहिलेसम्म कुनै पनि राजनीतिक दलका नेताहरुलाई आचारसंहिता उल्लघनमा कुनै कारवाही नभएको प्रजिअ खत्रीले जानकारी दिए ।
जिप्रकाको अनुसार तत्काल बिजुली बाल्न बिजुलीको पोल वितरण गर्ने, खानेपानीको अभाव भएको ठाउँमा खानेपानीको पाइप वितरण गर्ने, भोज भतेर खुवाउने लगायतका मौखिक उजुरी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्