१२ सय र ५५० मेगावाटको सुनकोशी जलविद्युतको काम अगाडि बढ्यो,रामेछापवासीलाई ५ प्रतिशत सेयर



७ वैशाख, काठमाडौं ।

सरकारले बहुप्रतिक्षित १२०० मेगावाटको जलासययुक्त सुनकोशी तेस्रो आयोजना अगाडि बढाउने भएको छ। सुरुमा ५३६ मेगावटको प्रारम्भिक अध्ययन गरिएको यो आयोजना पछि क्षमता बढाएर १२ सय मेगावाट बन्न लागेको भएको हो।

विद्युत् विकास विभागले १२०० मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको गत पुस महिनादेखि सम्भाव्यता अध्ययन सुरु गरेको छ। काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकमा रहेको यो आयोजना काभ्रे र रामेछापको सिमानामा पर्छ । आयोजनाको सम्भाव्यता अध्ययन एक वर्षअघि नै हुने भनिए पनि तत्कालिन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले तथा केहि सञ्चालक समितिका व्यक्तिको अनिच्छाका कारण ढिला सुरु भएको हो।

विभागका सूचना अधिकारी बाबुराजा अधिकारीका अनुसार जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाईका) ले देशैभरी छानेका उत्कृष्ट १० जलविद्युत आयोजना मध्ये सुनकोशी तेस्रो पनि एक हो।

सन् २०२० सम्म विस्तृत आयोजना अनुसन्धान (डिपिआर) सक्ने र त्यसपछि आयोजनालाई अगाडि बढाउने प्राधिकरणको योजना रहेको छ।विद्युत् बढी खपत हुने राजधानी र तराईको बीचमा बन्ने र काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको सुनकोशीलाई आकर्षक आयोजनाको रूपमा लिइन्छ।राजधानीबाट ६० किलोमिटरमात्र नजिक रहेको सो आयोजनामा पहुँच मार्ग पुगिसकेको छ भने प्रशारण लाइनको पनि खासै समस्या छैन ।

सुनकोशी मरिन डाइभर्सनमार्फत् बृहत्त सिँचाइको आयोजना अघि बढ्न लागेकोले त्यसको लागि पनि सुनकोशी धेरै आकर्षक मानिएको छ ।यी आयोजना तत्काल अगाडि बढाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि प्रत्यक्ष लागि परिरहेका छन् । उनको गृहजिल्ला समेत रहेको रामेछापलाई विद्युतको हव बनाउन आफूले हरसम्भव लागि पर्ने उनले बताए। घिसिङले सरकारी लगानीमा निर्माण हुने भएपनि रामेछापवासीका लागि पाँच प्रतिशतभन्द माथिको सेयर छुट्याइने रामेछाप न्युजलाई बताए।

सुनकोशी जति छिटो आयोजना बनाउन सक्यो, त्यति नै नेपालमा लोडसेडिङ अन्त्यका लागि सहयोग पुग्ने र काठमाडौंको लोड थेग्न सहयोग पुग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।त्यसैगरी आयोजना निर्माण गर्न सकेमा उक्त आयोजना नेपालकै सबैभन्दा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्न सकिने अवस्था पनि छ ।
र्याफिटङ फिसिङ, सुन्दर होटल निर्माण लगायत गरेर तिमाल, कोशीपारी र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताइन्छ ।प्राधिकरणका अनुसार सन् १९८३ मै पूर्व सम्भाव्यता अध्ययन भइसकेको आयोजनाको क्षमता ५३६ मेगाबाटबाट १५ सय मेगावाटसम्म पुर्याउन सकिने विज्ञहरू बताउँछन् ।

अध्ययनको क्रममा ६२ करोड २० लाख डलर लागत लाग्ने अनुमान गरिए पनि अहिले करिब ८० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आयोजना निर्माण भएमा काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक र रामेछाप जिल्लालाई प्रत्यक्ष फाइदा पुग्नेछ ।
रामेछाप जिल्लासँग प्रत्यक्ष सरोकार रहने १२०० मेगावाटको सुनकोसी तेस्रो र ५५० मेगावाटको सुनकोसी दोस्रोलगायत ठूला जलशययुक्त आयोजना छन्।

प्रतिक्रिया दिनुहोस्