निर्माण सम्पन्न नहुँदै बगायो सुनकोसीको पुल



७  वैशाख, रामेछाप ।
सुनकोसीमा निर्माण गरिएको अस्थायी पुल निर्माण सम्पन्न नहुँदै बाढीले बगाएको छ । रामेछाप जिल्लाको तीन गाउँपालिका र मन्थली नगरपालिका समेतका बासिन्दालाई आवातजावत गर्ने सहज हुने पुल निर्माण सम्पन्न नहुँदै बुधवार रातीको बाढीले बगाएको हो ।

सुनकोसी नदीको कोथवेस्थित रामेछाप–सिन्धुली जोडने अस्थायी पुल गत मंसिरबाट निर्माण थालिएको थियो । रामेछापका स्थानीय पासाङ लामा, विष्णु लामा लगायतका व्यक्तिहरुको लगानीमा अस्थायी पुल निर्माण थालिएको थियो । तर सम्पन्न नहुँदै नदीले बगाएपछि अब बन्ने कि नबन्ने अनिश्चित भएको छ । निर्माण सामग्री ढुवानी गर्ने उदेश्यले युवाहरुले पुल निर्माण थालेका थिए ।

सुनकोसी नदीको खैरेनीघाटको पक्की पुल निर्माण कार्य जारी रहेको छ । यस बर्ष तीन वटै पिलर निर्माण सम्पन्न गरेर अर्को बर्ष वैशाखसम्म पुल सञ्चालन गर्ने उदेश्य लिएको छ । पुल निर्माण थालिएको आठ बर्षपछि आगामी बर्ष सम्पन्न गर्न लक्ष्य ठेकेदार कम्पनीले लिएको छ । गत बर्ष पनि खैरेनीघाटमा निर्माणधिन पुल नजिकै रहेको स्थायी पुल निर्माण गरेर सञ्चालनमा ल्याएको थियो । गत बर्ष जेठ अन्तिसम्म अस्थायी पुल सञ्चालनमा आएको थियो । तर यस बर्ष वैशाख नलाग्दै अस्थायी पुल बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्