दुई चरणमा निर्वाचन गर्ने सरकार र मोर्चाबीच सहमति



९ वैशाख, काठमाडौं ।
आगामी स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ । सरकार र मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जनमा सहमति जुटाएर दुई चरणमा निर्वाचनमा जाने सहमति भएको हो ।

सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार बालुवाटारमा भएको वार्तामा संशोधन विधेयकमा गर्ने परिर्माजनमा सहमति जुटाएको छ । यसबारे भोलि मन्त्रिपरिषद्ले भोली बस्ने बैठकले निर्णय लिनेछ ।
संशोधन विधेयकको धारा ७ मा उपधारा ३ थप गरेर भाषा आयोगले सरकारी कामकाजको भाषा भनी सिफारिस गरेका भाषालाई संविधानको अनुसूचीमा समावेश गर्ने सहमति भएको छ ।साथै संघीय आयोग प्रदेशहरुको सीमा, संख्याका साथै स्वायक्त, संरक्षित र विशेष संरचनाबारे निश्चित समयभित्र प्रतिवेदन दिने र सरकारले त्यस अनुसार गर्ने सहमति भएको छ ।

धारा २७४ मा कुनै पनि प्रदेशको सीमा हेरफेर गर्दा सम्वन्धित प्रदेशको सहमतिमा संघीय संसदले गर्ने र प्रदेश सभा नबन्दासम्म अहिलेकै संसदले गर्न सक्ने व्यवस्था गर्ने सहमति भएको छ । साथै सरकार तराई मधेसका जिल्लाहरुमा स्थानीय तहको संख्या जनसंख्याका आधारमा बढाउन पनि तयार भएको छ ।

पहिलो चरणको चुनाव घोषित मिति बैशाख ३१ मै हुनेछ । दोस्रो चरणको चुनाव भने जेठ अन्तिम साता हुनेछ । संविधान संशोधन विधेयक परिमार्जन र दुई चरणको निर्वाचनबारे सरकारले भोलि मन्त्रिपरिषद्बाट निर्णय गर्नेछ । लगतै मधेसी मोर्चा र संघीय गठवन्धनले पनि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिनेछ ।

प्रतिक्रिया दिनुहोस्